लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ।
शेयर कारोबार हुने साताका पाँच दिनमध्ये तीन दिन नेप्सेमा वृद्धि भयो भने सोमबार र बिहीबार भने ओरालो लाग्यो।
साताभर कूल २२५ कम्पनीको रु ६७ अर्ब ७४ करोड छ लाख ३९ हजार १४५ बराबरको कारोबार भयो। नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १६ करोड ७५ लाख ६६ हजार ११४ कित्ता शेयर कारोबार भयो।
सबै दृष्टिकोणबाट हेर्दा साताभर शेयर बजारले नयाँ कीर्तिमान कायम गरेको छ। लगातार उकालो लागेको नेप्सेमा ऐतिहासिक बिन्दु कायम गरेर तीन हजार १०० को बिन्दुमाथि पुगेको थियो।
साताको अन्तिम दिन भने नेप्सेमा करेक्सन देखियो। बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएको तथा अधिक तरलता रहेका कारणले पनि शेयर बजारमा सकारात्मक प्रभाव देखा परेको हो।
यस्तै आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरणसमेत प्रकाशन हुन थालेकाले पनि बजारलाई सकारात्मक लय दिन सफल भएको हो। गत असार महिनाभर नेप्सेमा लगातार करेक्सन देखिएको भए पनि साउन लागेदेखि बजारले गति समात्दा लगानीकर्तामा उत्साह देखिएको छ।
शेयर बजारका जानकारका अनुसार नेप्सेमा ‘बुलिस ट्रेण्ड’को दबदबा कायमै छ। सोही कारण पनि हरेकजसो उपसूचकमा सकारात्मक प्रभाव देखिएको छ। यस साताको पहिलो कारोबार दिन नै नेप्सेमा ५४.३१ विन्दुले उकालो लागेर तीन हजार ५८.६३ मा पुगेको थियो।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.७४ विन्दुले बढेर ५७४.०२ मा पुग्दा कारोबार रकम पनि उल्लेख्य वृद्धि भयो। कूल २२३ कम्पनीका चार करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर रु १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ मूल्यमा खरिद बिक्री भए।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा ११ उपसमूहको शेयर उकालो लागेको थियो। कारोबारका आधारमा नेपाल बैंक शीर्ष स्थानमा रही रु ४९ करोड ७६ लाख ६५ हजार १८२ मूल्यमा खरिद बिक्री भएको थियो।
आइतबार उच्च अङ्कले बढेको कारोबार मापक नेप्से परिसूचक सोमबार ८.२४ बिन्दुले ओरालो लाग्यो। त्यसदिन नेप्सेमा करेक्सन भई तीन हजार ५०.४२ मा ओर्लेको थियो। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९३ बिन्दुले ओरालो लागेर ५७१.१० मा झरेको थियो।