राजस्व सङ्कलन ३३ प्रतिशतले वृद्धि

Symbolic photo
Symbolic photo

नेपाल प्रहरीले कानूनविपरीतका क्रियाकलापविरुद्धको कारवाहीबाट आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आवमा ३३ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ। 

आर्थिक वर्ष २०७६/७७ मा रु दुई अर्ब १७ करोड राजस्व सङ्कलन गरेकामा गत आवमा रु दुई अर्ब ९० करोड सङ्कलन भएको छ। यो अघिल्लो वर्षको तुलनामा ३३ दशमलव ६४ प्रतिशतले वृद्धि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको सक्रियताका कारण राजस्व सङ्कलनमा वृद्धि भएको जानकारी दिए। 

उनका अनुसार चाँदी बरामदबाट भने १०० प्रतिशत नै बढी राजस्व सङ्कलन भएको छ। अवैध मुद्रावापत झण्डै ७०० प्रतिशतले राजस्व सङ्कलन वृद्धि भएको प्रवक्ता कुँवरले जानकारी दिए। 

यसैगरी सुन बरामदबाट ३३ दशमलव ७५ प्रतिशतले राजस्व सङ्कलन बढेको छ। ट्रफिक कारवाहीमा समेत ३० दशमलव ७६ प्रतिशतले बढेको छ। 

अवैध सुन बरामदबाट प्रहरीले अघिल्लो वर्ष रु २० करोड ३० लाख राजस्व सङ्कलन गरेकामा गत वर्ष रु २७ करोड १५ लाख सङ्कलन गरेको छ। अवैध मुद्रामा अघिल्लो वर्ष ९९ लाख राजस्व सङ्कलन गरेकामा गत आर्थिक वर्षमा  रु ७ करोड बढी राजस्व सङ्कलन गरेको छ। 

यस्तै गत आर्थिक वर्षमा अवैध सामान बरामदबाट रु ८५ करोड राजस्व सङ्कलन भएको छ। नेपाल प्रहरीतर्फ गत आर्थिक वर्ष रु २८ अर्ब ३६ करोड बजेट विनियोजन भएकामा राजस्व सङ्कलन सहायताका आधारमा १० दशमलव २५ प्रतिशत योगदान प्रहरी कारवाहीबाट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-07-29 21:19:00

प्रतिकृया दिनुहोस्