अफगानिस्तानमा एक हप्तामा एक हजार ५०० तालिवान विद्रोही मारिएको सेनाको दावी

File photo
File photo

अफगानिस्तानमा गत एक हप्तामा देशभर चलाइएको सैन्य अभियानमा एक हजार ५०० भन्दा बढी तालिवान विद्रोही मारिएको र ८०० भन्दा बढी घाइते भएको अफगानिस्तानको राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा बल (एएनएसएफ) ले मङ्गलबार जानकारी गराएको छ। 

एएनडीएसअफका प्रवक्ता सैनिक जनरल अजमल ओमार शिन्वाराईले अफगानिस्तानको २० प्रान्तमा सञ्चालन गरिएको सैनिक अभियानका क्रममा एक हजार ५२८ ‘विद्रोही’ लडाकू मारिएका छन्। 

त्यस्तै ८०० भन्दा बढी घाइते भएका छन्। यस क्रममा १६ लडाकूलाई नियन्त्रणमा लिइएको प्रवक्ता शिन्वाराईलाई उद्धृत गरी खामा प्रेसले जानकारी गराएको छ। 

सेनाले गतहप्ताभरी स्थल, हवाई र तोपको सहयोगमा सैनिक कारबाही चलाएको बताइएको छ। उनले बिद्रोहीले उक्त अवधिमा १४ सर्बसाधारणलाई हत्या गरेको र ३० लाई घाइते पारेको पनि खामा प्रेसद्वारा सम्प्रेषित समाचारमा उल्लेख छ। 

सेनाको उक्त भनाई अफगानी तालिवान समूहले विभिन्न प्रान्तका सदरमुकाम तथा जिल्लाहरूमा पुनः कब्जा गरेको भनाई आइरहेका समय आएको हो। 

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने तयारी चलिरहेका समय तालिवान समूहले देशभर आक्रमण गरी आफ्ना गुमेका पूराना प्रभाब क्षेत्रलाई नियन्त्रण गरिरहेको समाचारहरू विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दिएका छन्। 

सेनाले भने तालिवान समूह प्रतिरक्षात्मक अवस्थामा नरहेको देशैभर निकै कमजोर बनेको दावी गरेको छ। यसैबीच सेनाको कारबाहीको दावीलाई एकपक्षीय भन्दै यसलाई पत्याउने कुनै आधार नरहेको भन्दै मारिएका भनिएका व्यक्ति आफ्नो समूहको नभएको दावी गरेको छ। सेनाले आफ्नो सैनिक दस्तालाई मनोवैज्ञानिकरूपमा बल पुगोस भनी उक्त भ्रमपूर्ण प्रचार गरेको दावी तालिवान समूहले गरेको छ। 

प्रकाशित मिति: : 2021-07-27 22:20:00

प्रतिकृया दिनुहोस्