कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन्।
कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ। अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेको छ।
गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोवार क्रमशः बढ्न थालेको हो। यही साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्यसमेत बढेको छ। निषेधाज्ञाका समयमा तीन साता ब्रोइलर चल्लाको बिक्री शुन्य भएकामा क्रमशःबढ्दै गएर प्रतिवटा रु ७० पुगेको छ।
नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय समितिका निवर्तमान अध्यक्ष टीकाराम पोख्रेलका अनुसार ब्रोइलर चल्लामा ठूलो नोक्सान भएको छ। उनले भने, 'निषेधाज्ञाका समयमा तीन साता हामीले चल्ला बेच्न सकेनौँ।'
गएको तीन महिनामा अन्य हप्ता लागत मूल्यका आधारमा बेच्नसमेत मुस्किल परेको उनको भनाइ छ। ब्रोइलर चल्लाको लागत मूल्य प्रतिवटा रु ५६ पर्दछ। एक सातामा देसभरका ह्याचरीले ३० लाख चल्ला उत्पादन गर्ने उनले जानकारी दिए।
लेयर्स चल्ला भने पु-याउन मुस्किल परेपछि व्यवसायीले नोक्सान बेहोर्नु परेको छैन। लेयर्स प्रतिवटा रु १७० मा बिक्री भइरहेको छ। देशभरमा ३४० वटा ह्याचरी दर्ता भएकामा ६० जति बन्द रहेको उनको भनाइ छ।
नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्षसमेत रहेका पोख्रेल व्यवसायीले कोरोनाका कारण धेरै नोक्सान बेहोर्नु परेको बताउँछन्। राज्यले समयमा ध्यान दिएर पोल्ट्री क्षेत्रलाई हेर्न नसकेमा आत्मनिर्भर यस व्यवसाय भविष्यमा धरासाही बन्दै जानसक्ने उनको चिन्ता छ।
आजदेखि लागू हुनेगरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको) रु ३८५ र मिडियम प्रतिक्रेट रु ३५५ कायम गरिएको छ। नेपाल अण्डा उत्पादक सङ्घले लागू गरेको यो दर रेट हालसम्मकै उच्च हो। केन्द्रीय अध्यक्ष शिवराम केसीका मागअनुसार अण्डा पु-याउन कठिन भएको बताए।
हाल दैनिक ३३ लाख हाराहारी अण्डा उत्पादन भएको अनुमान छ। अन्य समयमा यो सङ्ख्या ४७ लाखसम्म पुग्ने गरेको उनले जानकारी दिए। निषेधाज्ञाका समयमा अण्डाको रेट प्रतिक्रेट रु ३३० सम्म झरेको थियो। हाल अण्डाको लागत मूल्य प्रतिक्रेट रु ३६० हाराहारी पर्ने उनको भनाइ छ। बजारको मागअनुसार दररेट बढाइएको उनले जानकारी दिए।
कोभिडले निषेधाज्ञा भएका समयमा खपत क्रमशः बढ्दै गएको केसीको बुझाइ छ। उनले भने, 'अण्डाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भनेर खानेक्रम बढेको छ।' पहिराले अवरोध भएका बाटो खुलेसँगै देशैभर अण्डा पु-याउन सकिएको र साउन महिनामा समेत अण्डाको माग बढेको उनले बताए।
दुई हजार ७०० हाराहारी पोल्ट्री फार्म रहेका छन्। लेयर्स कुखुरामा ८० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी पाएको उनी बताउँछन्।
अण्डाको मूल्य बढे पनि दानाको कच्चापदार्थको दर उच्च हुँदा किसानले सोचे जस्तो मुनाफा नपाएका कृषक बताउँछन्। पोल्ट्री व्यवसायी मदन पोख्रेल कुखुराको दानामा प्रयोग हुने प्रतिकिलो रु ५० पर्ने भटमास रु १०५ सम्म पुगेको र रु २२ हाराहारीमा पाउने मकै रु ३७ सम्म पुगेको बताउँछन्।
उनले भने, 'दानाको मूल्यसँगै अण्डाको मूल्य बढेकाले हामीलाई त्यति नाफा छैन।' कोभिडको समयमा लागत मूल्यमा अण्डा बिक्री गर्न कठिन भएको र काममा जोखिम मोल्नुपरेको निवर्तमान अध्यक्ष पोख्रेलको गुनासो छ।
महँगोमा चल्ला राख्नुपर्दा लागत मूल्य बढी हुने उहाँ बताउनुहुन्छ। निषेधाज्ञाका समयमा कुखुराको मासुले मूल्य नपाउँदा धेरैले नोक्सानी बेहोर्नु परेको छ। दुई वर्ष अष्ट्रेलियामा अध्ययन गरेर फर्किएका गैँडाकोटका सम्भव पाण्डे निषेधाज्ञामा आफूले पालेका ३२ हजार ब्रोइलर कुखुराबाट रु २६ लाख नोक्सान भएको बताउँछन्।
उनले नवलपरासीको बेल्डीया र गैँडाकोटमा कुखुरा पालेका थिए। त्यतिबेला प्रतिवटा रु १०० हाराहारीमा खरीद गरेको चल्लाबाट उत्पादन भएपछि बिक्री गर्दा प्रतिकिलो रु १५० मा बेच्नु परेको उनको भनाइ छ।
चितवन–नवलपुर दाना वितरक सङ्घका अध्यक्ष तेजनारायण पाण्डे ब्रोइलर कुखुराको किसानको लागत मूल्य रु २२० सम्म पर्ने भए पनि निषेधाज्ञाभर सस्तोमा बेच्नुपर्दा धेरै नोक्सान भएको बताउँछन्।
क्रमशः मूल्य बढ्दै गएको उनको भनाइ छ। कोभिड घट्दै गएपछि किसानले राहत महसुस गरेको उनले बताए। उनका अनुसार अहिले कुखुराको मासुको मूल्य रु ३८० प्रतिकिलो पुगेको छ। नेपालमा पोल्ट्री क्षेत्रमा रु एक खर्ब ५० अर्बभन्दा बढी लगानी भएको व्यवसायी बताउँछन्।
लेयर्स कुखुरापालनमा अग्रणी दाउन्ने ट्रेडर्सका कार्यकारी निर्देशक विनोद पोख्रेल कच्चापदार्थको मूल्य दिनानुदिन बढ्दा र कोभिड जस्ता महामारीका समयमा यो व्यवसाय सञ्चालन कठिन हुने बताउँछन्।
देशभर अण्डाको सञ्जाल रहेको दाउन्नेका कार्यकारी निर्देशक पोख्रेल सरकारले कृषि क्षेत्रलाई विषेश प्राथमिकतामा राखेर हेर्नुपर्छ भन्छन्। दाउन्नेको नवलपारसीको फार्ममा हाल तीन लाख लेयर्स कुखुरा रहेका छन्। देशमा नै सबैभन्दा बढी लेयर्स कुखुरा भएको यो एक मात्र फार्म रहेको उनीहरुको भनाइ छ।
उनले भने, 'कोभिडका समयमा किसानले बेहोरेको नोक्सानलाई सरकारले सम्बोधन गर्नुपर्छ।' कच्चापदार्थ बाहिर आश्रित भएसम्म किसानले लाभ लिन कठिन हुने जनाइएको छ।