स्थलगत : बाँच्नुपर्ने बाध्यताले न्यायको मैदानमा पछारिएकी दुर्गादेवी

सागर चन्द

काठमाडौं

दुर्गादेवी पन्तले घरको मूलढोकादेखि दाहिनेतिर जोडिएको पानीपुरी र चटपटे पसलको ढोका थुनेको ठ्याक्कै तीन वर्ष भयो । स्कुल जाने र पढ्ने समय उभारेर पसलमा आमा दुर्गादेवीलाई सघाउँथिन् छोरी निर्मला ।  

१० साउन २०७५ । चाँडै आउने भन्दै पढ्न भनेर किताब बोकेर साथीको घरतिर हिँडेकी थिइन्, निर्मला । तर, कहिल्यै फर्किनन् । भोलिपल्ट उनको शव उखुबारीमा भेटियो । त्यही दिनदेखि थुनिएको ढोकामा तीन वर्षपछि यो संवाददाता पुग्दा ताल्चा झुण्डिरहेको थियो ।

‘तीन वर्ष भइसक्यो त्यो ढोका खोल्ने आँट नै आउँदैन,’ आँगनबाट ढोकातिर समेत नहेरी दुर्गादेवीले सुनाइन्, ‘खोल्छु भन्दै कतिपटक हिम्मत जुटाउन खोजेँ । तर नजिकै पुगेपछि मुटु गाँठो परेर आउँछ । छोरीको सम्झनाले व्यथा बल्झाउने पसल खोल्ने हिम्मत अब आउँदैन होला ।’

दुर्गादेवीको पसलको ढोका मात्र बन्द भएको छैन । न्यायको ढोका पनि बन्दसरह छ । ९ कक्षामा पढ्ने १३ वर्षीया किशोरी निर्मलाको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानले खुलाउन बेर लगाएन । तर, तीन वर्षसम्म अपराधीबारे अत्तोपत्तो छैन । ‘केही गरी छोरी फर्केर आउँदिन । अपराधीले सजाय पाए छोरीको आत्माले शान्ति पाउँथ्यो, हामी जिउँदालाई पनि सान्त्वना मिल्थ्यो,’ दुर्गादेवीले मलिन स्वरमा भनिन् । 

तीन वर्षदेखि दुर्गादेवीको मन यस्तै बचैन छ । कहिले समुन्द्रको छालसरी उठ्छ, कहिले शान्त तलाउजस्तो शून्य बनिदिन्छ । त्यसैले त उनी भन्छिन्, ‘अपराधी पत्ता नलागेसम्म न त छोरीको आत्माले शान्ति पाउने भयो, न मेरो मनले चैन ।’

उनलाई घरधन्दा र जिविकामा सघाउने छोरीको शव भेटिएको दिनदेखि बन्द छ, आर्जनको स्रोत पानीपुरी र चटपटे पसल । घटनासँगै विथोलिएको छ दुर्गादेवीको जीवनको लय । १० महिना जति त उनी अधिकारकर्मीको पाइला पछ्याउँदै न्यायको चित्कारसहित दौडिरहिन् । अपराधी पत्ता लगाउन माग गर्दै उनका पाइला कञ्चनपुरदेखि काठमाडौंसम्म पुगे ।  

१ असोज ०७५ मा अधिकारकर्मीसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उनी बालुवाटार पुगिन् । बिडम्बना, मुलुकको कार्यकारीसामु दुर्गादेवीले न्यायको याचना बिसाउनै पाइनन् । प्रधानमन्त्री ओलीले अन्यायको बेदना नसुनेपछि नै दुर्गादेवीमा न्यायको आशा मरिसकेको थियो । ‘बालुवाटारमा हामीलाई बोल्नै दिएनन्, न्याय पाउने आशा अहिले पनि छैन,’ राज्यप्रति दुर्गादेवी दुखेसो पोख्छिन् । 

प्रकाशित मिति: : 2021-07-26 07:37:00

प्रतिकृया दिनुहोस्