भारत र चीनबीच सम्बन्ध चिसिएको बेला भारतीय प्रधानमन्त्रीद्धारा दलाई लामालाई शुभकामना

बिएल संवाददाता

नयाँ दिल्ली
Photo - Hindustantimes.com
Photo - Hindustantimes.com

तिब्बती आध्यात्मिक नेता दलाई लामाको ८६ औँ जन्मजयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिएका छन्।

भारतीय प्रधानमन्त्री मोदीले दलाई लामालाई ८६ औँ जन्मजयन्तीको अवसरमा शुभकामना दिएसँगै भारत चीनबीच सम्बन्ध थप बिग्रने बिश्लेषण भएका छन्।

आध्यात्मिक नेता लामालाई टेलिफोन मार्फत शुभकामना दिएको भन्दै प्रधानमन्त्री मोदीले ट्विइट मार्फत पुन: शुभकामना व्याक्त गरेका छन्। भारतको उत्तरी क्षेत्रमा निर्वासनमा रहेका तिब्बती आध्यात्मिक नेता दलाई लामालाई चीनले पृथकतावादी, विभाजनकारीको रुपमा लिने गरेको छ। चीनलाई दु:खी नबनाउने मनसायले कतिपय भारतीय नेताहरुले दलाई लामासँग सार्वजनिक सम्पर्क गर्न सावधानी अपनाउने गरेका छन्।

 दलाई लामा सँगको सम्पर्कले भारत चीन समबन्धमा ल्याउन सक्ने रानीतिक परिणामलाई मध्यनजर गर्दै ६ बर्ष पहिलो भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र दलाई लामाबीच तय गरिएको बैठक रद्द गरिएको थियो। भारतीय मिडियाहरुले सन् २०१९ मा पनि लामाको जन्मजयन्तीको अवसरमा भारत सरकारले लामासँग संवाद गरेको दाबी गरे पनि यो खबर सार्वजनिक रुपमा बाहिरिएको थिएन। 

शान्तिपूर्ण स्वतन्त्रताको नाममा चीनले सन् १९५० मा तिब्बतमाथि नियन्त्रण जमाएको थियो। त्यसपछि सन् १९५९ मा दलाई लामा तिब्बतबाट निर्वासित भएका हुन्। भारतले तिब्बतलाई चीनको स्वायक्त क्षेत्र स्वीकार गरेपनि चीनसँग सीमा क्षेत्रमा भूमिगत विवादहरु कायमै छ। भारत र चीनबीच ३ हजार ५ सय किलोमिटरको हिमालय सीमा क्षेत्रमा भूमिगत विवाद रहँदै आएको छ। गतबर्ष जुनमा सीमाक्षेत्रमा भारतीय र चिनियाँ सेना बीच भएको गम्भिर मुडभेडमा २० जना सेनाको ज्यान गएको थियो। 

भारत चीनबीच यस्तो चिसो सम्बन्ध रहेको बेला दलाई लामाको जन्मजयन्तीमा प्रधानमन्त्री मोदीले सार्वजनिक रुपमा शुभकामना दिँदा दुई देश बीच नकारात्मक राजनीतिक प्रभाव हुनसक्ने बिश्लेषण गरिएको हो।

प्रकाशित मिति: : 2021-07-24 16:03:00

प्रतिकृया दिनुहोस्