प्राचीन बौद्ध साहित्यमा चार युगका बारेमा कतै उल्लेख नभए पनि १६औं/१७औं शताब्दीतिरका कतिपय साहित्यमा त्यो सन्दर्भ पाइनु हिन्दू समाज र साहित्यको प्रभाव हो।
हिन्दू समाजमा सत्य, त्रेता, द्वापर र कलि गरी चार युगको मान्यता छ। चार युगको अवधारणाले बुद्ध र बौद्धसँग कुनै सम्बन्ध राख्दैन। प्राचीन पाली बौद्ध साहित्यमा तीन वेदको उल्लेख भए पनि युगको अवधारणा कतै भेटिँदैन। समयक्रममा १६औं/१७औं शताब्दीतिर कतिपय बौद्ध साहित्यमा भने चार युगको उल्लेख पाइन्छ। यसले हिन्दू समाजबाट परेको प्रभाव तथा धार्मिक विश्वासको विकास प्रक्रिया देखाउँछ।
हिन्दू ग्रन्थहरूमै प्रष्ट रूपमा उल्लेख नभएको र विरोधाभास देखिएको चार युगको अवधारणा बौद्ध जनमा स्थापित हुनु अनौठो कुरा हो। शुरूमा हिन्दू ग्रन्थहरूमा यी युगका बारेमा कति स्पष्टता वा विरोधाभास छ भन्ने चर्चा गरौं।
सत्य युगलाई सत युग पनि भनिन्छ। महाभारतको वनपर्व अनुसार, सृष्टिको शुरूआतदेखि १७ लाख २८ हजार वर्षको अवधि सत्य युग थियो। यसको उल्लेख मनुस्मृति र ब्रह्माण्ड पुराणमा पनि पाइन्छ। सत्य युग भनेर सुख, शान्ति, समृद्धि र सुव्यवस्थाको प्रत्याभूति दिने एउटा अवधिविशेषलाई चित्रण गरिन्छ।
सत्य युगको बखान अनेक ग्रन्थमा पाइन्छ। ती ग्रन्थमा लेखिए अनुसार, सत्य युगमा कोही पनि मानिस बिरामी हुँदैनथे।
न्द्रियहरूमा पनि कुनै फेरबदल आउँदैनथ्यो। आमाबाबुअघि छोराछोरी तथा नातिनातिनाको मृत्यु हुँदैनथ्यो। कृषि लगायत कुनै पनि मानवीय कर्म हुँदैनथ्यो। किनबेचको प्रचलन थिएन। दुःख भयो भनेर कसैले रुनु पर्दैनथ्यो। चिताएकै भरमा सबै प्राप्त हुन्थ्यो। लडाइँ र झगडा हुँदैनथ्यो। कसैले कसैको निन्दा गर्दैनथे। त्यस्तो बखान हिजोआज पनि वर्तमानको बद्ख्वाइँका लागि गर्ने गरिन्छ।