वर्तमान राजनीतिक घटनाक्रमले धेरै कुरालाई प्रतिबिम्बित गरिरहेको छ। पछिल्ला केही दिनमा विकसित घटनाहरूले विभिन्न संकेत गरेका छन्। कतिपय घटना अचम्मलाग्दा छन् त केही स्वाभाविक।मुलुककोभौगोलिक बनोट र आर्थिक स्थितिका कारण हामी अन्य देशसँग परनिर्भर छांै। जसका कारण दातृराष्ट्रले हाम्रो मुलुकमा विभिन्न किसिमका इच्छा, चाहना अनुसारको चलखेल गर्न सफल भइरहेका छन्। त्यसैको उदाहरण हो एमसीसी परियोजना।
दातृराष्ट्र वा दातृनिकायले दिने अनुदानबाट चल्ने भनिने त्यस्ता धेरै परियोजना छन्, जुन झट्ट हेर्दा विकास र अर्थतन्त्रसँग जोडिन्छन्। तर, त्यसभित्र राजनीतिक इच्छा वा उद्देश्य र राजनीतिक शक्तिसँग जोडिएर काम भइरहेको देखिन्छ। यसरी बुझ्दा छिमेकी मुलुकहरू भारत, चीन र ठूलो शक्ति राष्ट्र अमेरिका हाम्रो मुलुकलाई धेरै महत्त्वका साथ हेर्छन्।चाहे त्यो जे सुकै कारणले होस्, हाम्रो मुलुकभित्र आफ्नो अनुकूल राजनीतिक शक्ति, राजनीतिक नेतृत्व, राजनीति नेता र राज्यका महत्त्वपूर्ण निकाय संवैधानिक निकायको नेतृत्व र सुरक्षा निकायसम्म पनि आफूअनुकूल चाहन्छन्। यो कुरा विगतका दशकदेखि नै सबैलाई महसुस भएकै हो। अहिलेको राजनीतिक घटनाक्रम जसरी विकास भएको छ, यसलाई त्यसैको उपज मान्न सकिन्छ।
अमेरिका र पश्चिमा शक्तिलाई चुनौति दिइरहेको चीनको सीमा नेपालसँग जोडिएको हुनु तथा पश्चिमा शक्तिले चीनलाई काउन्टर दिन एसियामा आफ्नो सहयात्री बनाएको भारतको नेपालसँग खुला सीमा हुनु शक्तिकेन्द्रको प्राथमिकतामा नेपाल पर्नुको मुख्य कारण हो।नेपालको भौगोलिक अवस्थिति सामरिक हिसाबले यी शक्ति राष्ट्रका लागि यतिसम्म महत्त्वको छ कि उनीहरू नेपालमा आफूअनुकूलको सरकार चाहन्छन्। र, यसका लागि उनीहरू जुनसुकै हदसम्म जान तयार हुन्छन्।दुईतिहाई बहुमतको बलियो सरकारलाई समेत ढलाउनु चानचुने कुरा थिएन। तर, सरकार ढली छाड्यो वा ढलाइछाडियो। नेपाली जनताले केपी ओली सरकार पाँच वर्षसम्म टिक्ला भन्ने अपेक्षा गरेका थिए। तर, त्यसो हुन सकेन।सरकार ढलाउन सत्ताधारी पार्टीलाई नै विभाजित पार्न सक्ने शक्तिअभ्यास समेत नेपालमा भयो। यो नै शक्ति केन्द्रले नेपालको राजनीतिक नेतृत्व परिवर्तनका लागि कतिसम्म शक्ति लगाउन सक्छन् भन्ने बलियो उदाहरण हो।