लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व सङ्कलन

सिरहाको ठाडी भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ।

पटकपटकको निषेधाज्ञा र सीमा बन्द भए पनि भन्सार कार्यालयले आव २०७७/७८ मा लक्ष्यभन्दा रु दुई करोड ८९ लाख ९२ हजार बढी राजस्व सङ्कलन गरेको हो।

रु छ करोड ५६ लाख २० हजार सङ्कलनको लक्ष्य रहेकामा रु नौ करोड ४६ लाख १२ हजार राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख नरेश साहले जानकारी दिए।

उनका अनुसार कोरोना सङ्क्रमण फैलिन नदिन गरिएको निषेधाज्ञाका कारण जेठ र असारमा लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न नसके पनि अरु महिनामा बढी राजस्व सङ्कलन भएको छ।

सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत भगवानपुर गाउँपालिका–२ नरहामा सडक निर्माण कार्य भइरहेकाले सवारी साधन आवतजावत सहज नहुँदासमेत लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको प्रमुख साहले बताए। कार्यालयले धान, गहुँ, फलफूल, तरकारी र टायल्सबाट बढी राजस्व उठाएको प्रमुख साहले जानकारी दिए।

यस्तै यातायात व्यवस्था कार्यालय लहानले आव २०७७/०७८ मा रु. ४३ करोड ७८ लाख १५८ राजस्व सङ्कलन गरेको छ। सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण, जाँचपास, बाटो इजाजतपत्र, प्रदूषण, कम्पनी रजिष्ट्रेसनलगायत शीर्षकबाट सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख मीन भट्टराईले जानकारी दिए।

सङ्कलन भएको राजस्वमध्ये रु एक करोड ७० लाख ३३ हजार ५७४ सङ्घीय सरकारको खातामा र रु ४२ करोड आठ लाख ३९ हजार ५८४ प्रदेश सरकारको खातामा जमा गरिएको कार्यालय प्रमुख भट्टराईले बताए।

प्रकाशित मिति: : 2021-07-19 11:30:00

प्रतिकृया दिनुहोस्