लक्ष्यभन्दा आठ करोड बढी राजश्व सङ्कलन

आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कूल रु आठ अर्ब ९३ करोड ३७ लाख ७६ हजार राजश्व सङ्कलन गरेको छ।

सो अवधिमा रु आठ अर्ब ८४ करोड ४६ लाख २२ हजार राजश्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य थियो। कार्यालयले लक्ष्यभन्दा रु आठ करोड ९१ लाख ५४ हजार बढी राजश्व सङ्कलन गर्न सफल भएको छ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७७/७८ मा सङ्कलित राजश्वमा आयकर रु तीन अर्ब ५२ करोड १९ लाख १४ हजार, मूल्य अभिवृद्धि कर रु दुई अर्ब ५३ करोड ९० लाख १२ हजार र  अन्तःशुल्क रु दुई अर्ब ८७ करोड २८ लाख ५० हजार रहेको छ।

सो अवधिमा कार्यालयले आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हासिल गरेको छ।
 

प्रकाशित मिति: : 2021-07-18 08:47:00

प्रतिकृया दिनुहोस्