निषेधाज्ञामा ३०० कोठा बुकिङ

कोरोना सङ्क्रमणका कारण ठप्प रहेको सौराहाको जङ्गल सफारी लजले असार महिनामा ‘पे नाउ गो लेटर अफर’मा ३०० कोठा बुकिङ गरेको छ।

सबै होटल बन्द भइरहँदा यो होटलले नयाँ अफरमार्फत आर्थिक वर्षको मसान्तमा बैंकिङ किस्ता र ब्याजलगायतका खर्च गर्न सहज बनाएको हो।

होटलका कार्यकारी निर्देशक सुमन घिमिरेका अनुसार असार १ देखि ३१ गतेसम्म सामाजिक सञ्जालमार्फत अफर आह्वान गरिएको थियो।

आन्तरिक पर्यटक प्रवद्र्धनका लागि गरिएको यो अफरमा स्वदेशी र विदेशमा रहेका नेपालीले बुकिङ गरेका छन्। बढी सङ्ख्यामा वीरगञ्जदेखि बुटवलसम्मका पर्यटक छन्।

पोखरा र काठमाडौँका पर्यटकको सङ्ख्या पनि ठूलो रहेको उनले जानकारी दिए। स्थानीयसँगै ठाउँठाउँबाट पत्रकार, लेखक, साहित्यकार, व्यवसायी, कर्मचारी, नेपाल प्रहरी, नेपाली सेनालगायतले सो अफरमार्फत कोठा बुक गरेका हुन्।

यस योजनाअन्तर्गत पर्यटकले तीन रातका लागि कोठाको मूल्य मात्र रु चार हजार तिरे पुग्नेछ। अन्य समयमा ती कोठाको मूल्य रु १० हजार ५०० हुने गर्दछ। यसको साथै स्वीमिङ पुलको सुविधा पाइनेछ।

यस योजनाअन्तर्गत होटलको कोठामा ६२ प्रतिशत छुट दिइएको छ। कोठामा दुई वयस्क र एक बच्चा बस्न पाउनेछन्।

सो योजनामा कोठा बुक गरेकाले आगामी चैत २८ गतेसम्म प्रयोग गर्नुपर्ने घिमिरेले जानकारी दिए। उत्साहजनक ढङ्गबाट कोठा बुकिङ भएको जनाउँदै उनले यसले आफूलाई हौसला मिलेको बताए।

उनले भने, “यो योजनालाई देशका प्रमुख पर्यटकीय ठाउँका होटलमा संयुक्तरुपमा लैजानुपर्छ भन्ने सोचको विकास भएको छ।” यसले खाली हुने कोठा बुकिङ हुने र अग्रीम भुक्तानी हुँदा सञ्चालनमा सहयोग पुग्ने उनको भनाइ छ।

प्रकाशित मिति: : 2021-07-17 15:57:00

प्रतिकृया दिनुहोस्