गोरो हुन र भद्दा नदेखिनलाई गरेको पटकपटकको प्लास्टिक सर्जरी इत्यादिले उनको स्वास्थ्य पनि खस्कँदै थियो। सर्जरीकै कारण हुने दुखाई कम गर्न विभिन्न प्रकारको पेन किलर खान उनी बाध्य थिए। भनिन्छ, एउटा यस्तो पनि समय आयो कि उनको शरीरमा हाडछाला मात्र बाँकी थियो।
१८, नोभेम्बर २००७। बर्लिनको ब्राण्डेनवर्ग गेट अघिल्तिर टहल्दै थिएँ। छेवैमा सुप्रसिद्ध होटेल एडेलन थियो। स्थानीय साथीले चौथो तलाको झ्यालतिर औल्याउँदै भने– यो त्यही झ्याल हो जहाँबाट माइकल ज्याक्सनले आफ्नो काखे बच्चालाई दुई हातले बोकी बाहिर निकाले र त्यहाँ हजारौंको संख्यामा एकत्रित प्रशंसकहरूलाई देखाए। बच्चा देखाउँदै गरेको उनको तस्बिर पहिले नै टाइम म्यागेजिनमा हेरिसकेको थिएँ, एडेलन अगाडि उभिँदा त्यही तस्बिर भिडियोमा परिणत भएर ‘लूप’मा ‘प्ले’ भएजस्तो भान हुन्छ मलाई। सन् २००२ मा उनी कुनै पुरस्कार ग्रहण गर्न बर्लिन पुगेका बेला उनले यस्तो गरेका थिए। त्यसको पाँच वर्षपछि अर्थात् सन् २००७ मा त्यही ठाउँमा पुग्दा आफू उभिएको ठाउँ र होटेल एडेलनमा उनको उपस्थिति कल्पना गरेर रोमाञ्चित भएँ।
माइकल ज्याक्सन आएर बसेको कुनै ठाउँको यतिको नजिक पहिलोपटक उभिएको थिएँ। यसअघि सन् १९९६ मा कन्सर्टका लागि उनी मुम्बई आएका बेला म भैरहवावासीेलाई लाग्थ्यो, सात समुद्रपारीको त्यो महान् कलाकार र हाम्रो बीचमा एउटामात्र सिमाना छ भनेर। त्यो जमाना टेलिभिजनविहीन थियो। भिडियो हलहरूमा गएर सिनेमा हेर्ने युग थियो, पछि साथीकै घरमा डेक र स्क्रिन आएपछि भिडियो हलमा जाने धपेडीबाट मुक्त भइयो। आफूलाई मन लागेको सिनेमाको भिएचएस क्यासेट भाडामा लिन पाउने सुविधामा हामी पुगेका थियौं। माइकल ज्याक्सनको ‘थ्रिलर’ भिडियो त्यही बेला हेरेका थियौं। त्यसपछि उनी समेतले गाएको ‘वी आर द वल्र्ड’ भन्ने गीत हेरेर आँखासमेत रसाएको थियो। अरू गायकगायिकालाई सामान्य किसिमले देखाइए पनि उक्त गीतमा उनलाई जुत्तादेखि ‘टिल्टअप’ गर्दै देखाइएको थियो। त्यतिबेलै लागिसकेको थियो, अरूभन्दा माइकल ज्याक्सन विशेष छन् भनेर...।