भन्सारले उठायो साढे तीन अर्ब

File photo
File photo

नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाकाको व्यापारिक कारोवारबाट प्राप्त राजस्व सार्वजनिक गरिएको छ। 

आर्थिक वर्ष २०७७/७८ मा आयात भएका चिनियाँ सामग्रीको भन्सार शुल्कबाट कूल रु एक अर्ब ७३ करोड १९ लाख ४७ हजार राजस्व प्राप्त गरेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको हो।

आयात भएका सामग्रीको मूल्याङ्कनका आधारमा मूल्य अभिवृद्धिकर, अन्त शुल्क एवं भन्सार शुल्कका साथै अन्य विविध शीर्षकको असुलीबाट उक्त राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए। 

नेपालबाट चीनतर्फ जाने सामग्रीको निर्यात शून्य रहेको छ। चीनतर्फबाट भने स्याउ, ओखर, लसुन, अदुवा, जुत्ताचप्पल, तयारी पोशाक, स्वास्थ्य सामग्री, विद्युतीय सामग्री, नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाका उपकरण, एम्बुलेन्सलगायत केही सवारी साधनसमेतका विविध सामग्री आयात हुने गरेको बताइएको छ।

विगत वर्ष २०७६/७७ मा भन्सार शुल्कबापतको राजस्व रु आठ अर्ब २७ करोड ७७ लाख असुली भएको थियो। 

गत वर्ष भने बढ्दो कोरोना सङ्क्रमणका कारण नेपाल–चीनबीच रसुवागढीको मितेरी पुलबाट केरुङका लागि मालबाहक सवारी लैजान र मानिसको आवागमनसमेत बन्द भएका कारण सामग्री आयातमा कमी भई भन्सार शुल्कमा भारी गिरावट भएको भन्सार कर्मचारी बताउँछन्।

कोरोनाकै कारण विगतमा आयात ठप्प भएपछि रोगको सावधानी अपनाउँदै नेपाल चीनबीचको समझदारी एवं सीमा क्षेत्रमा कार्यरत दुई देशका अधिकारीबीचको समन्वयबाट १५ कन्ट्रेनरलाई पुग्ने मात्र सामान आयात भइरहेको छ। 

शुरु शुरुमा पाँच÷सात डिब्बा मात्र सामग्री आउने गरेकामा भन्सार कार्यालयको पहलबाट अहिले १५ डिब्बासम्म सामान आयात हुने गरेको र थप वृद्धिका लागि पहल भइरहेको भन्सार प्रमुख रेग्मीले जानकारी दिए। 

क्वारेन्टिनमा राखिएका कामदार एवं चालकलाई रसुवागढी नाकामा प्रवेश गराउने कार्य भइरहेको र चिनियाँ मालबाहक सवारी साधनले रसुवागढीसम्म नै सामग्री ल्याउने गरेको भन्सार कार्यालयले जनाएको छ। 

निरन्तरको वर्षा भिरपहराको फेदमा रहेको कार्यस्थललाई कुनै प्रवाह नगरी भन्सार कर्मचारी, सुरक्षा अङ्गसमेतका राष्ट्रसेवक कर्मचारीका साथै सवारी चालक एवं कामदारले निरन्तर कार्य गरिरहेका स्थानीय बासिन्दाले बताएका छन्।

प्रकाशित मिति: : 2021-07-16 13:33:00

प्रतिकृया दिनुहोस्