बढ्यो चिराइतोको मूल्य

पछिल्लो एक सातायता चिराइतोको मूल्यमा सुधार आएको छ।

सोअघि ताप्लेजुङमा प्रतिमन रु आठ हजारका दरले कारोबार भइरहेको चिराइतोको मूल्य एक्कासि बढेर हाल रु १५ हजारका दरले कारोबार भइरहेको छ।

उता झापाको बिर्तामोडमा भने प्रतिमन रु २० हजारका दरले कारोबार भइरहेको व्यवसायीले बताएका छन्। यसअघि झापामा प्रतिमन रु १३ हजारमा कारोबार भइरहेको थियो। पछिल्लो एक सातायता क्रमशः मूल्य वृद्धि हुँदै हाल झापामा प्रतिमन रु २० हजार पुगेको हो।

“एक साता अघिसम्म यहाँ प्रतिमन रु आठ हजारमा किनबेच भइरहेको थियो, अहिले रु १५ हजार पुगेको छ, झापामा रु २० हजार छ”, व्यवसायी सबिन बानियाँले भने। पछिल्लो सिजनमा उत्पादन न्यून रहेको र हाल भारतलगायतका ठाउँबाट यसको माग बढेकाले मूल्य पनि बढेको हुन सक्ने बानियाँले बताए।

पछिल्लो समय पूर्वी पहाडी जिल्लामा उत्पादित चिराइतो धेरैजसो भारततर्फ निकासी भइरहेको छ। एक वर्ष अघिसम्म जिल्लाको ओलाङ्चुङगोला हुँदै चीनको तिब्बततर्फ पनि निकासी हुने गरेको थियो तर कोभिड–१९ का कारण एक वर्षदेखि टिपताला नाका बन्द हुँदा त्यसतर्फ चिराइतोलगायतका सामानको निकासी पनि ठप्प बनेको छ।

प्रकाशित मिति: : 2021-07-16 07:45:00

प्रतिकृया दिनुहोस्