तीन स्थानीय तहमा पुगेनन् वाणिज्य बैंक

File photo
File photo

तीन स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन्। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालू आर्थिक वर्षको एघार महिना ९गत साउनदेखि जेठ मसान्तसम्म० को तथ्याङ्कअनुसार तीन स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेका हुन्।

बैंकका अनुसार हालसम्म ७५० स्थानीय तहमा मात्रै बैंकिङ पहुँच पुगेको छ। कूल ७५३ स्थानीय तहमध्ये २०७८ जेठसम्म ७५० मा वाणिज्य बैंकका शाखा विस्तार भएका छन्। विसं २०७७ जेठसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए।

वाणिज्य बैंक नपुगेका स्थानीय तहमा धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनिचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिका छन्। 

जेठ मसान्तमा हाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या १३८ रहेको छ। त्यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७२ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन्।

२२० बैंक तथा वित्तीय संस्था मर्ज

बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्म २२० बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्। 

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७८ जेठ मसान्तसम्म कूल यसमध्ये १६६ संस्थाको इजाजत खारेज हुन गई ५४ संस्था कायम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ।
 

प्रकाशित मिति: : 2021-07-15 15:29:00

प्रतिकृया दिनुहोस्