इटाली यूरो कप फुटबल २०२० को च्याम्पियन भएको छ।
फाइनलमा इंग्ल्याण्डलाई उसको घरेलु मैदानमा हराउँदै इटाली यूरो कपको च्याम्पियन बनेको हो।
आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको छ।
पहिलो हाफको सुरुवातमा नै अग्रता लिएको इंग्ल्यान्डले बल पोसेसनमा पकड जमाउँदै इटालीलाई खुलेर खेल्न दिएको थिएन।
दोस्रो हाफमा थप आक्रामक देखिएको इटालीले सेट पिसमा गोल फर्काएपछि खेल पुन: प्रतिस्पर्धात्मक देखिएको थियो। निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे। आन्द्रे बेलोट्टी र जोर्गिन्होको प्रहार इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए।
इंग्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे। तर, मार्कुस राषफोर्डको प्रहार पोस्टमा लागेर फर्कदा जाडोन सान्चो र साका बाकुयोको प्रहार इटालीका गोलकिपर जियानलुइजी डोनारुम्माले रोकेका थिए।
यूरो कप फुटबलको फाइनल पेनाल्टी शूट आउटबाट टुंग्याइएको यो दोस्रो अबसर हो।
यसअघि सन् १९७६ मा चेक रिपब्लिक र पश्चिम जर्मनीबीचको फाइनल खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिदा खेल पेनाल्टी शूट आउटमा गएको थियो। चेक रिपब्लिकले पेनाल्टी शूट आउटमा जित हात पार्दै उपाधि जित्न सफल भयो।