मोदी नेतृत्वको ७८ सदस्यीय जम्बो मन्त्रिपरिषदमा ११ महिला मन्त्री

Photo : NDTV
Photo : NDTV

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा सात महिला मन्त्री थपेका छन्।

मोदी नेतृत्वको सरकारमा ७ नेत्री थपिएसँगै महिला मन्त्रीको संख्या ११ पुगेको छ। मन्त्रिमण्डलमा भारतीय जनता पार्टीकी नेत्री मिनाक्षी लेखी, शोभा कारन्दलजे, दर्शाना जरदोश, अन्नपूर्ण देवी, प्रतिमा भौमिक, भारतीय पवार र अपना दलबाट राज्यमन्त्रीको रुपमा अनुप्रिया पटेलले बुधबार सपथ लिएका छन्।

यीमध्ये पटेलबाहेक अन्य ६ नेत्रीहरू पहिलोपल्ट केन्द्रीय मन्त्रिपरिषदमा सहभागी बनेका हुन्। प्रधानमन्त्री मोदी नेतृत्वको पहिलो सरकारमा पटेल स्वास्थ्य तथा परिवार कल्याण राज्य मन्त्री समेत थिइन्।

नवनियुक्त सात मन्त्रीसँगै वित्त मन्त्री निर्मला सितारमण, महिला तथा बाल विकास मन्त्री स्मृति ईरानी, राज्यमन्त्रीहरू साध्वी निरन्जन ज्योति र रेणुका सिंह सरुता यस अघिदेखि नै मन्त्रिमरिषदमा छन्।

नयाँ मन्त्रीहरूको सपथ लिनुअघि महिला तथा बाल विकास राज्यमन्त्री देवश्री चौधरीले राजीनामा दिएकी थिइन्। प्रधानमन्त्री मोदीको अघिल्लो कार्यकालमा ९ महिला मन्त्री थिए भने यसपटक ११ पुगेका छन्।

मन्त्रीमण्डलमा १५ मन्त्री र २८ राज्यमन्त्री थपिएका छन्। मोदी नेतृत्वको सरकारमा ७८ सदस्यीय जम्बो टीम गठन भएको छ।

प्रकाशित मिति: : 2021-07-08 09:10:00

प्रतिकृया दिनुहोस्