
डिल्ली पाण्डे
निषेधाज्ञाले गर्दा काठमाडौं मात्र होइन, देशभरिकै होटेल चलेका छैनन्। विदेशी नआएपछि ठमेलका होटेल झनै सुनसान छन्, तर सोमबार राति साढे १० बजेतिर ज्याठामा रहेको ‘जिआंगहु खाजन’ होटेलमा भने विदेशी अतिथि भेटिए।
चार जना चिनियाँ नागरिक होटेलको दोस्रो तलमा बसेका थिए। होटेलभित्र केही आपराधिक गतिविधि भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त लैनचौरबाट प्रहरीटोली उक्त होटेलमा पुगेको थियो।
एक कोठामा चार जना चिनियाँ नागरिक भेटिए। प्रहरीले उनीहरूको बारेमा सोधिखोजी गर्यो। उनीहरूको सांकेतिक जवाफ थियो– ग्राहक।
चिनियाँ नागरिकले अङ्ग्रेजी नबोल्ने उनीहरूले बोलेको चिनियाँ भाषा प्रहरीले नबुझ्ने समस्या छदै थियो, तर आपराधिक गतिविधि भएको सूचना पाएपछि प्रहरी पछि हट्ने पक्षमा थिएन।
त्यसपछि उनीहरू बसेको कोठामा प्रहरी घुम्यो र छापा मार्यो। कोठामा छिर्दा दुई वटा ठूला टेबलजस्ता बस्तु थिए। बुझ्दै जाँदा त्यो त जुवा खेलाउन प्रयोग हुने विद्युतीय टेबल भएको खुल्न आयो।
अनि त्यसैमा प्रयोग गरिने चिनियाँ भाषामा ‘माजङ’ भनिने चार सय १० वटा गोटी भेटिए अर्थात् होटेलभित्र त मिनी–क्यासिनो नै खोलिएको रहेछ, तर खेल्ने उनीहरू चार जना मात्र हुन वा अरू कोही आएका छन् भनेर होटेलमा खोज्दा कोही भेटिएनन्।
प्रहरीले यति देखेपछि उनीहरूलाई नियन्त्रणमा लियो। अनि थाल्यो थप कोठा र होटेलको ‘सर्च’।
प्रहरीको नजर कोठाको कुना–कुनामा पर्यो। खानतलासी गर्दै चकित तुल्याउने वन्यजन्तुका अङ्गहरु फेला परे। बाघका छाला, बाघका दाँत, २० थान कस्तुरीको बिना, बुद्धचित्त, रुद्राक्षदेखि नेपाली खुकुरी फेला परे। अनि विभिन्न बैंकका एटिएम कार्डदेखि भौचरसम्म फेला परे।
त्यसबाहेक तेजपत्ता, दालचिनी, सिलाजित जस्ता जडीबुटीसमेत फेला पर्यो। जुवा खालमा छापा हान्न गएको प्रहरी टोलीले हतियारदेखि वन्यजन्तुका अङ्ग फेला पारेपछि अनुसन्धानलाई झनै फराकिलो पार्योे।
पाँच वर्षदेखि नै होटल भाडामा लिएर चिनियाँ नागरिक वीलंङ शीले सञ्चालन गरेको देखियो, तर उनी भेटिनन्।
प्रहरीले बुझ्दै जाँदा उनी केही समयअघि नै चीन फर्किएको जानकारी पायो। उनी चिन गए वा प्रहरीको पत्तो पाएर यतै कतै लुकेर बसिरहेका छन् भन्ने पुष्टि भइसकेको छैन, तर प्रहरीले उनका ‘पार्टनर’ एमए जिङगविन, नियु यूलिङ, पेङ हुइ, जाओ पेनचेंगलाई पक्राउ गरेको छ।
‘हामीलाई चिनियाँ नागरिकको अत्यधिक गतिविधि बढेको र त्यो ठाउँमा केही अवैध गतिविधि हुने गरेको सूचना आयो, हामीले सूचनालाई केलाउँदै त्यहाँ पुग्यौँ र यस्तो अवस्था भेटियो’, महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने।
होटेलबाट ३५ थान विभिन्न बैंकका एटीएम कार्डहरू, बैंकको भौचर तथा बिलहरू र ८ लाख नेपाली रुपैयाँ फेला पर्नुले बैकिङ अपराध जन्यकार्यहरु समेत हुने गरेको प्रहरीको आशङ्का छ।
‘च्याङक्हु खाचान’को मुख्य सञ्चालक बाहिर भए पनि उनका साझेदारहरूलाई पक्राउ गरेका छौँ, उनीहरूबाट वन्यजन्तुका अङ्गदेखि हातहतियारसम्म फेला परेका छन्, अनुसन्धान हुँदैछ, काठमाडौं प्रहरी प्रमुख सिंहले भने।
ज्याठाको होटेलमा यति ठूलो अपराध भइरहेकाले यसमा नेपालीको पनि संलग्नता हुनुपर्ने प्रहरीले आशङ्का गरेको छ। प्रहरीले चिनियाँको नेपाली मतियारको पनि खोजी थालेको छ। ‘जिआंगहु खाजन’मा मात्र होइन, पछिल्लो समय ठमेल क्षेत्रमा चिनियाँ विभिन्न अवैध गतिविधि सञ्चालन गरेको आशङ्कामा प्रहरीले सुरक्षा जाँचमा कडाइ थालेको छ।
होटेलसम्म वन्यजन्तुको अङ्ग कसरी आइपुग्यो? नेपालीको संलग्नता छ कि छैन? उनीहरु कहिलेदेखि नेपालमा बसेर अपराधिक गतिविधि गरिरहेका थिए, भन्ने प्रश्नमा प्रहरीको अनुसन्धान केन्द्रित रहेको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया