यसरी प्रहरीकाे फन्दामा परे कलाकार शिशिर राणा 

चलचित्र निर्देशक तथा कलाकार शिशिर राणाले घर व्यवहार चलाउन भन्दै ललितपुरका एक व्यक्तिबाट ४५ लाख रुपैयाँ ऋण लिएका थिए।

तर, ऋण दिएका व्यक्तिले पटक-पटक अनुरोध गर्दा पनि राणले रकम फिर्ता गर्न सकेनन्। समयमा ऋण तिर्न नसक्दा उनीहरुको सम्बन्ध चिसिदै गयाे।

अन्तत: राणाले आफूले लिएकाे रकमबापत् उक्त व्यक्तिलाई नबिल बैंकको चेक दिए। तर उनले चेक दिए पनि खातामा पर्याप्त रकम थिएन।

राणाले आफूलाई पर्याप्त रकम नभएको चेक दिएको भन्दै ती व्यक्तिले ललितपुर प्रहरीमा उजुरी दिए। सोही उजुरीका आधारमा उच्च अदालत पाटनले २०७७ माघ २६ गते राणालाई बैंकिङ कसुरमा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गर्‍यो।

राणालाई पक्राउ गर्न प्रहरीले खोजी गर्दा पनि सकेको थिएन। तर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार काठमाडौंको बिजुली बाजारबाट पक्राउ गर्‍यो।

प्रोडक्सन म्यानेजरका रूपमा फिल्म क्षेत्रमा प्रवेश गरेका शिशिरले दुई दर्जन फिल्ममा काम गरिसकेका छन्।

‘अन्दाज’, ‘वडा नम्बर छ’, ‘क्लासिक’, ‘वीर–विक्रम’, ‘कायरा’, ‘रामकहानी’, ‘पोई पर्‍यो काले’ लगायत फिल्ममा उनले अभिनय गरेका छन्।

केही फिल्मको कथासमेत लेखेका शिशिरले ‘तिमीसँग’ र ‘पोई पर्‍यो काले’को निर्देशनसमेत गरेका थिए। उनले ‘माला’ फिल्ममा लगानीसमेत गरेका थिए।

प्रकाशित मिति: : 2021-07-06 16:31:00

प्रतिकृया दिनुहोस्