प्रेरक कथा: श्राप

लिलाराज

काठमाडौँ
Breaknlinks
Breaknlinks

कुनै सम्राटको दरबारमा भिक्षा माग्दै एकदिन अचानक एउटा जोगी प्रकट भयो। जोगी निकै आकर्षक र चमत्कारिक देखिन्थ्यो।

कम्मरमुनि उसले बाघको छाला ओढेको थियो। लामा-लामा जट्टा र दाह्रीका वावजूद उसको चेहरा लगभग धपक्कै बलेजस्तो देखिन्थ्यो। उसका पाखुराहरु निकै बलिस्ठ लाग्थे। अनौठा काला मालाहरुले ढाकिएको उसको छाती पनि निकै चौडा देखिन्थ्यो। पेट भित्र धँसिएको थियो। गाँजल लगाएका उसका आँखाहरु ठूला-ठूला थिए। उसले कानमा काठका ठूला-ठूला कुण्डल लगाएको थियो भने निधारमा विभूतीको बाक्लो लेपन पनि गरेको थियो।

राष्ट्रिय दिवसको तयारीमा दरबारको सजावट कार्य भइरहेको थियो। दुई दिनपछि देशवासीका नाउँमा सम्राटले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो। लामो समयपछि राज्यमा गृहयुद्ध अन्त्य भएर जिन्दगीहरु पहिलेभन्दा निकै सहज हुन थालेका थिए।

सम्राट भएठाउँमा खबर पुग्यो, बाहिर एउटा निकै आकर्षक जोगी भिक्षा मागिरहेको छ, के कसरी उसको सम्मान गर्ने ?

सायद त्यो बेला राज्यमा जोगी र भिखारीहरुको निकै सम्मान हुने गर्दथ्यो। त्यसो त यो पुरानो जमानाको महत्वपूर्ण विशेषता पनि थियो।

सम्राटले आदेश दियो, 'जोगीलाई सम्मानसाथ यहाँ लिएर आऊ !'

अबेर नगरी जोगीलाई सम्राटका सामु झिकाइयो।

'के चाहन्छौ, तिमी ?', नियालेर जोगीको चेहरा हेर्दै सम्राटले सोध्यो।

त्यतिन्जेलमा जोगीका सामु भेटस्वरुप अनेक फलफूल, मिठाई, द्रव्य आदि पेश भइसकेको थियो।

नजरानातर्फ वास्तै नगरी जोगीले आगो ओकलेजस्तो आवाजमा भन्यो, 'म यो राज्य चाहन्छु !'

जोगीको भनाइले सम्राटलगायत त्यहाँ उपस्थित भाइभारदारहरु एकसाथ चकित भए। निमेषभरमा नै उनीहरु सचेत पनि भए।सम्राटका अंगरक्षकहरुले जोगीको कन्पारो नजिक बन्दुक सोझ्याइहाले।

निडर भावमा त्यहाँ मौजूद जोगीले आफ्नो कन्पारो छेउमा आइपुगेका बन्दुकहरु नदेखेजस्तै गरेर अगाडि भन्यो, 'ओ सम्राट तिमी त्यो राजगद्दी छोड, म त्यहाँ बस्न चाहन्छु !'

कन्पारो वरिपरि सैनिकहरुले बन्दुक ताक्दा पनि उस्तै ज्वालामुखीजस्तो आवाजमा जोगीले त्यस्तो अनपेक्षित कुरा बोलेको सुनेर त्यहाँ उपस्थित सबै पलभरका लागि किंकर्तव्यविमूढ भए।

त्यसपछि सैनिकहरुले बन्दुकको नालले जोगीको कन्पारोमा लगभग घोच्न पुग्दा सम्राटले रोक्दै भन्यो, 'म अहिले भर्खर तिम्रो बध गर्न सक्छु, ओ जोगी महाराज ! तर मलाई लागिरहेको छ कि तिमी जोगीको भेषमा एक पागल हौ। र, म पागलहरुको हत्या गदिँन !'

'हाहाहा... पागल !?' जोगीले जोडदार हाँस्दै भन्यो, 'ठिक छ सम्राट, तिमीले गद्दी नछाड्ने नै हो भने एउटा जोगीको अपमान गरेको आरोपमा म तिमीलाई श्राप दिने छु।'

'श्राप ?' सम्राटले मजाकिया अन्दाजमा भन्यो, 'झिँगोको श्रापले डिँगो मर्दैन रे, कनफट्टा !'

'मलाई अरुजस्तो ठान्नु तिम्रो भूल हो, सम्राट !' जोगीले फटाफट यथावत आवाजमा भन्यो, 'तिम्रो राज्यमा भएका सारा कुवाँको पानी जजसले खान्छ त्यो पागल हुने छ। यही नै मेरो श्राप हो !'

यत्ति भनेर जोगी भ्ल्याट्टै गायव भयो।

त्यस कक्षमा उपस्थित सबैलाई एकसाथ तेज झट्का लागेजस्तो भयो। साथै सम्राट लगायत सबैको जीउमा पसिना छुट्यो। कसैकसैको त पसिनाभन्दा ज्यादा तरल पदार्थ पनि चुहिएको देखियो।

साँच्चै नै त्यो चानचुने जोगी होइन रहेछ। तर अब पछूतो मानेर हुनेवाला केही थिएन। धेरै ढिलो भइसकेको थियो। तर जोगीले भनेको मान्ने ठाउँ पनि त थिएन। कसरी एउटा कनफट्टा जोगीको आदेश मानेर उसलाई गद्दी र राज्य जिम्मा लगाउनु ? हुने कुरा गर्नुपर्छ नि !

सम्राटले घटनालाई महत्व नदिएर यथावत कार्य सुचारु गर्ने र दरबारका लागि नजिकैको अर्को राज्यबाट तत्काल पानी मगाउने आदेश पनि दियो। साथै उसले जोगीले दिएको श्रापका बारेमा कसैलाई केही नबताउन त्यहाँ उपस्थित सबैसमक्ष उर्दी पनि जारी गर्यो।

दुई दिनपछि, सम्राटले राष्ट्रिय दिवसका उपलक्ष्यमा एउटा महत्वपूर्ण सम्बोधन गर्यो। लामो समयपछि राज्यमा युद्धविराम भएकाले त्यसपश्चात सम्राटको यो पहिलो सम्बोधन पनि थियो।

तर सम्बोधनको भोलिपल्ट केही अनौठो हुनपुग्यो। जिन्दगीमा कहिलेकाहीँ अप्रत्याशित रुपमा यस्तै आश्चर्य हुने गर्छ।

चोक-चोक, गल्ली-गल्लीमा मान्छेहरु भेला भएर जुलुस, कोणसभा र विरोधसभाहरु गर्न थाले। मानिसहरुले पूर्णरुपमा सडक तताएका थिए। चक्काजाम गरेका थिए। पसल, कार्यालय र अड्डाअदालतहरु ठप्प पारिएका थिए।

उनीहरुको एउटै आवाज थियो, 'हाम्रा सम्राट अचानक पागल भए। अब हामीलाई यो सम्राट चाहिँदैन। हामीलाई तुरुन्तै अर्को सम्राटको व्यवस्था गरियोस् !'

परेन त आपत ? 

जोगीको श्रापले काम गरिरहेको थियो। साँच्चै नै त्यो एक असाधारण जोगी थियो। अर्को राज्यबाट पानी मगाएर दरबारमा खाइए तापनि जनताले साविक झैँ आआफ्ना कुवाँको पानी खाने नै भए। आखिर दरबारमा त्यो रहस्यमय र चमत्कारिक जोगीको आगमन, उसको असम्भव माग र श्रापका बारेमा सारा जनताहरु बेखबर थिए।

सम्राटले आपतकालिन सभा बोलायो। बोलाउने नै भयो। अरु उपाय थिएन।

सभा शुरु भएपछि प्रधानमन्त्रीले घटनाको बयान गर्दै भन्यो, 'जोगीले श्राप दिएपछि हामीले त आफ्नो कुवाँको पानी नखाएर बाहिरबाट मगाएर खायौँ। तर जनतालाई केही थाहा नभएकाले उनीहरुले यथावत कुवाँको पानी खाए। अनि जोगीको श्राप अनुसार पागल भए। महाराज, एउटा वा दुइटा मात्रै जनता होइन सारा राज्य नै पागल भएको छ !'

'केही उपाय छ कि ?' सम्राटले जुँगामा ताऊ लगाउँदै सोध्यो।

'उपाय त ...,' प्रधानमन्त्रीले कक्षमा चारैतिर हेरेपछि सम्राटका आँखाहरुमा नियाल्दै भन्यो, 'अब गुप्तरुपमा हामीले पनि कुवाँबाट पानी ल्याएर खानुपर्छ। त्यसपछि मलाई लाग्छ हिसाब बराबर हुनेछ।'

नभन्दै गुप्त तरिकाले तत्काल नजिकैको कुवाँको पानी मगाइयो। बाहिर आन्दोलन जारी थियो। टायरहरु बालिँदै थिए। रेलिङहरु तोडिँदै थिए। जुलुस र विरोधसभाहरु जारी थिए। कतिपय जनताहरु नाङ्गै थिए। कोही आफ्ना वा अर्काका लुगाहरु च्यातिरहेका देखिन्थे। आफूआफूबीच हानाहान हुँदा केही नागरिकको मृत्यु पनि भइसकेको थियो।

सारा जनता एक भएर भन्दै थिए, 'पागल सम्राट चाहिँदैन। राज्य लुटन पाइँदैन। झ्यालखानाहरु खुल्ला गर्। पागलखाना बन्द गर् !'

जनताका नाराजुलुस देखेर र उनीहरुका मागहरु सुनेर भेष बदल्दै र लुक्दैछिप्दै कुँवाको पानी लिन गएका सैनिकहरु मुसुमुसु हाँस्थे।

गुप्त तवरले घैलाका घैला पानी झिकाइएपछि सम्राटलगायत दरबारका सबैले भटाभट एकएक अंखोरा कुँवाको पानी खाए। अनि केही बेर मस्त सुते।

त्यसपछि सम्राटले जनताका नाउँमा एउटा आपतकालिन सम्बोधन गर्यो। उसले निकै लामो भाषण दियो।

सम्राटको भाषण सुनेर जनता निकै खुशी भए। परर तालीहरु बजे। सायद त्यतिबेला पनि प्रत्यक्ष प्रशारण अर्थात लाइभ टेलिकास्टको व्यवस्था थियो। हुनसक्छ, सन्जयले धृतराष्ट्रलाई महाभारत युद्धको प्रत्यक्ष प्रशारण गरेजस्तो।

जनताले एकमुष्ट भने, 'अब सम्राट ठिक छन्। हामीलाई यिनै सम्राट चाहिन्छ !'

त्यसपछि त्यो राज्य लामो समयसम्म सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुनपुगेको थियो।


(यो सामग्री हालै बजारमा आएको लिलाराज खतिवडाको प्रेरक कथा संग्रह  ‘चक्रवर्ती सम्राट’बाट लिइएको हो। लाइफ रिसर्च एण्ड पब्लिकेशनद्वारा प्रकाशित २८ वटा प्रेरक कथा संग्रहको मूल्य रु. १७५ छ। संग्रहित प्रेरक कथाहरु अवसादलाई उर्जामा रुपान्तरण गर्ने अल्केमीले युक्त भएको प्रकाशकीयमा उल्लेख छ। लामो समय राजधानीका विभिन्न अखवारमा संवाददाताका रुपमा काम गरेका खतिवडाको आत्मिक जागरणले ओतप्रोत 'म को हुँ' उपन्यास २०७२ सालमा वैकल्पिक समूहले प्रकाशित गरेको थियो। उनको ‘नयाँ शाषक’ कथा संग्रह प्रकाशोन्मुख छ।)

प्रकाशित मिति: : 2021-07-04 15:54:00

प्रतिकृया दिनुहोस्