धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो 

फाइल तस्वीर
फाइल तस्वीर

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ। शान्ति सैनिक खटाएर योगदान पुर्याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन्।

विश्वका १२२ राष्ट्रले राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन्।विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ सङ्ख्यामा अहिले नेपाली शान्ति सैनिक परिचालित छन्।

अफ्रिका महादेशका द्वन्द्वरत मुलुक सुडान र कङगोलगायतमा अहिले शान्ति सैनिकका रूपमा कार्यरत नेपाली महिला सैनिकको सङ्ख्या १७६ रहेको छ। यसअघि एक हजार ५५० नेपाली महिला सैनिकबाट शान्ति कार्यमा योगदान भइसकेको छ।

सैनिक प्रवक्ता पौडेलले भने, ‘ अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ, अहिले रुवाण्डाको जनशक्ति घटेको छ, त्यसबाट हामी चौथोबाट तेस्रोमा उक्लिएका हौँ। नेपालसँग सयुंक्त राष्ट्रसङ्घले केही समयअघि थप ४५० शान्ति सैनिकको माग पनि गरेको छ।’

सन् १९५८ मा लेबनानबाट विश्वशान्ति स्थापना कार्यमा सैनिक पठाउन शुरु गरिएको हो। विश्वशान्ति स्थापना कार्यमा सैनिक पठाएर योगदान पुर्याएवापत ६३ वर्षको अवधिमा नेपाली सेनाले एक लाख ३५ हजार ३४३ थान शान्ति (युएन) पदक प्राप्त गरिसकेको छ।

अनुशासित, व्यावसायिक र साहसिक सैनिकका रूपमा स्थापित नेपाली सेनाले ‘शान्ति मिसन’ यात्रामा द्वन्द्वपीडित जनताको मन जित्दै शान्ति कायम राख्न सिपालु ‘पिस च्याम्पियन’को छवि बनाएको छ। नेपाली सेनासँग संसारका ४२ वटा शान्ति मिसनमा खटिई काम गरेको अनुभव छ।

मिलनसार र उत्कृष्ट ढङ्गबाट  जिम्मेवारी पूरा गरेकै कारण संयुक्त राष्ट्रसङ्घ र द्वन्द्वग्रस्त मुलुकका नागरिकको पहिलो रोजाइमा नेपाली सेना पर्दै आएको छ। नेपालले संयुक्त राष्ट्रसङ्घबाट माग भई आएमा १० हजारसम्मको सङ्ख्यामा फौज पठाउन सक्ने प्रतिबद्धता जाहेर गरिसकेको छ। नेपालले योगदानका आधारमा प्राप्त गरेको सिरियामा तैनाथ अन्डोफ शान्ति मिसनको फोर्स कमाण्डरको जिम्मेवारीमा हाल रथी ईश्वर हमाल हुनुहुन्छ। यसअघि कृष्णनारायण थापा, भिक्ट्री राणा, बालानन्द शर्मा, पवनजङ्ग थापा, प्रधान सेनापति पूर्णचन्द्र थापाले फोर्स कमाण्डरको जिम्मेवारी सम्हालेका छन्।

मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि प्रतिबद्ध समावेशी चरित्रको नेपाली सेना विश्व शान्तिस्थापनार्थ द्वन्द्वग्रस्त मुलुकमा खटिँदा पहिलो पङ्क्तिमा रहेर काम गर्दै आएको छ। विश्व शान्तिका लागि यस अवधिमा ६८ नेपाली सैनिकबाट आफनो जीवनको बलिदानी भइसकेको छ। यस अवधिमा ६६ जना सैनिक गम्भीर घाइते भएका छन्।

मानव अधिकारको पूर्ण पालना, द्वन्द्व व्यवस्थापन र मानवीय सहायतामा नेपाली सेनाबाट हुँदै आएको कार्यको विश्व समुदायबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ। द्वन्द्वग्रस्त मुलुकमा शान्तिस्थापना गर्ने कार्यमा संयुक्त राष्ट्रसङ्घले नेपाली सेनाप्रति निकै ठूलो आसा, भरोसा र विश्वास राखेको छ।

अन्तर्राष्ट्रिय शान्तिस्थापनाका लागि उल्लेखनीय योगदान दिई विश्व समुदायबाट नेपाली सेनाले ठूलो इज्जत, प्रतिष्ठा र विश्वास आर्जन गरिरहेको छ। रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले नेपाली सेनाले शान्ति मिसनमा खटेर पुर्याएको योगदान अतुलनीय भएकाले राष्ट्रसङ्घबाट धेरै नै प्रशंसा पाउँदै आएको बताएका छन्।

प्रकाशित मिति: : 2021-06-29 08:47:00

प्रतिकृया दिनुहोस्