म्यान्मार सेनाको क्रूरताः पक्राउ परेकी नाबालिकाले हिरासतमै मनाइन् जन्मदिन

म्यान्मारको शासन सत्ता हातमा लिएका तानाशाही सैनिकको क्रूरताले सीमा नाघिसकेको छ।

प्रजातन्त्रवादी नागरिकमाथि सैनिकले गर्ने बर्बर दमन गत फेब्रुअरी यता निरन्तर जारी छ।

मोगोकका प्रजातन्त्रवादी नेता को सोठेकी नाबालिका छोरी सुठ्ठेवाईँलाई सैनिक हिरासतमा लिएको दुई हप्ता भइसक्यो। उनलाई म्यान्मार जुन्ता सरकारका प्रतिनिधिले आँगनमा खेलिरहेको बेला नियन्त्रणमा लिई हिरासतमा पुर्‍याएकाे हुन्। 

बुबालाई खोज्न घरमा गएका सुरक्षाकर्मीले नभेटेपछि नाबालिका छोरीलाई लिएर गएको स्थानीयले बताएका छन्। 

उनै नाबालिका सुठ्ठेवाईँले सोमबार सैन्य हिरासतमा पाँचौ जन्मदिन मनाएकी छन्। हिरासतमा पाँच वर्षीय सुठ्ठेवाईँले केक काटेर आफ्नो जन्मदिन मनाएको म्यान्माली सञ्चार संस्था ऐरावतीले जनाएको छ।

स्वतन्त्रताको वकालत गर्ने नेता सोठे अर्धभूमिगत छन्। तर, सैनिकले श्रीमतीसहित दुई छोरीलाई पक्राउ गरेको छ। सुठ्ठेवाईँलाई सैन्य ‘कू’विरूद्धको प्रदर्शनमा सहभागी समेत बनाइएको थियो। हिरासतमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको तस्विर उचालेको उनको तस्विर सामाजिक सञ्जालको चर्चामै छ। 

सुठ्ठेवाईँलाई हिरासतमा राखेको समाचार बाहिरियपछि बालबालिकाको क्षेत्रमा काम गर्ने सामाजिक संस्था तथा मानवअधिकारकर्मीले सैनिक क्रूरताकाे तीव्र विरोध गरेका छन्।

म्यान्मारमा दिनहुँ बन्दुकको आडमा भइरहेका हत्या बारे शक्तिराष्ट्र माैन छन्। छिमेकीहरू सैनिक तमासा हेरिरहेका छन्। उनीहरू चुइक्क बोल्दैनन्। 

म्यान्मार सरकारी सैनिकबाट सबैभन्दा असुरक्षित बालबालिकाहरू रहेका छन्। हालसम्म सैन्य ‘कू’यता ७३ निर्दोष बालबालिकाले सुरक्षाकर्मीको गोलीबाट ज्यान गुमाएका छन्।
 

प्रकाशित मिति: : 2021-06-28 21:44:00

प्रतिकृया दिनुहोस्