राजनीतिकाे चपेटाले पोखरिया अस्पताल अस्तव्यस्त

Breaknlinks
Breaknlinks

पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिकास्थित जिल्ला अस्पताल पोखरिया अस्तव्यस्त छ।

सञ्चालनमा आएदेखि सो अस्पताल आजसम्म पनि व्यवस्थित हुन नसकेको पोखरियाका बासिन्दाको भनाइ छ।

अस्पतालमा आवश्यक मापदण्ड अनुसारको भौतिक पूर्वाधार रहेता पनि त्यसको संरक्षण, सदुपयोग र व्यवस्थित गरिएको छैन। अस्पतालको सेवा एवं प्रशासनिक गतिविधि लथालिङ्ग रहेको पोखरियाका सेवाग्राहीहरूको गुनासो छ।

सो कुरालाई उक्त अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सञ्जय गुप्ताले पनि स्वीकारेका छन्। उनले आफू पोखरिया अस्पताल आएदेखि हालसम्म १० प्रतिशत मात्रै सुधार गर्न सकेको बताए। अस्पतालको अवस्था सुधार गर्न आफू निरन्तर लागिपरेको तर लक्ष्यमा पुग्न निकै गाह्राे रहेको  पनि उनले बताए।

“मेरो इच्छा शल्यक्रियातिर थियो। पोखरिया अस्पतालमा शल्यक्रिया सञ्चालनमा ल्याउने निर्णय गरियो तर शुरू हुन सकेको छैन। न त शल्यक्रियामा चाहिने सबै उपकरण नै आइपुगेको छ। यहाँ अस्पतालमा राजनीति हावी छ, जसले गर्दा काम गर्न सहज छैन”, निमित्त मेसु गुप्ताले प्रतीकलाई बताए।

अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारीको अभाव छ। आवश्यक स्वास्थ्यकर्मी नै नरहेपछि पोखरिया नगरपालिकाका बासिन्दाहरू सामान्य उपचारको लागि पनि वीरगंज धाउन बाध्य रहेको पोखरिया–१ का रामरतन तुरहाले बताए। उनको भनाइ अनुसार जिल्ला अस्पतालमा बर्थिङ सेवासमेत भरपर्दो छैन।

“गर्भवती महिला पनि पोखरिया अस्पतालमा जान डरमर्दो छ, किनकि सबै गर्भवती महिलाको अवस्था सामान्य नै हुन्छ भन्ने प्रत्याभूति छैन। कतै जटिल अवस्था आयो भने यहाँ केही हुन सक्दैन, फेरि वीरगंज नै पठाउनुपर्छ। यहाँ अलमलिएर बस्दा ज्यान जोखिममा पर्ने भएकोले सुरूमै गर्भवती महिलाहरू वीरगंज पुग्छन्,” तुरहाले कारणसहित बताए।

उनको कुरामा सही थाप्दै अस्पतालनजिक रानीगंजका सुकदेव गिरीले भने, “यहाँबाट वीरगंज १८ किलोमिटरको दूरीमा छ। यहाँ उपचार हुँदैन वीरगंज लैजाऊ भन्नेबित्तिकै लैजान सकिदैन, त्यसैले हामी पहिले नै वीरगंज पुग्छौं, ज्यान किन जोखिममा राख्ने ?”

पोखरियामा चिकित्सकले लेखे अनुसारको औषधिसमेत नपाउने उनले बताए। सरकारले निश्शुल्क उपलब्ध गराउने भनिएको औषधि यहाँ पाइँदैन। चिकित्सकले लेखिदिन्छन् तर पाउन गाहो छ, त्यही औषधि फेरि बाहिर पैसा तिरेर किन्नुपर्छ।

“अस्पतालमा केही औषधि उपलब्ध भइहाले पनि म्याद गुज्रेको पाइन्छ,” गिरीले आफूले बिरामी लिएर जाँदा 'कफ सिरप', 'स्लाइन पानी'लगायतमा उपभोग्य मिति नाघेको फेला पारेको बताए। त्यसैगरी, अस्पतालमा सेवा लिन पुग्ने बिरामीलाई शौचालयको समेत समस्या छ।

शौचालय भए पनि त्यसको मर्मत संभार एवं सरसफाइको अभावमा प्रयोग हुन नसक्ने अवस्थामा छ। धाराहरू भाँचिएका, टुटेका छन्, जताततै दुर्गन्ध छ। अस्पतालमा सरसफाइ कर्मचारी नभएको होइन तर उनीहरू हाजिरी मिलाउनका लागि मात्रै आउने गरेको अस्पतालकै स्वास्थ्यकर्मीहरूले खुलासा गरे।

पोखरिया अस्पताल विकास समिति पनि छ। समितिका सदस्यहरूले तलब खाने गरेको तर काम भने 'वरको सिन्का पर पनि नसार्ने' नगरवासीको आरोप छ।

अस्पतालका स्वास्थ्यकर्मीले विगत एक वर्षदेखि ओभरटाइम खटेबापतको रकम माग गरिरहेका छन्। विकास समितिका सदस्यहरू केही काम नै नगरी तलब खाएर बसेका छन्। यस सम्बन्धमा मेसु गुप्ताले आफूलाई विस्तृत जानकारी नभएको बताए। अस्पतालको विशेष अधिकार नगरको प्रमुखको हातमा रहेको उनको भनाइ छ।

अस्पतालमा सञ्चालित फार्मेसी र एम्बुलेन्सको हिसाबकिताबसमेत आफूलाई जानकारी नहुने मेसु गुप्ताको भनाइ छ।

अस्पतालको संयन्त्र साङ्गठनिक दायरा अनुसार नचलेको कारण समस्या आएको हो। जिल्लाको मध्यभागमा अवस्थित पोखरिया अस्पताल सुधार हुने र व्यवस्थितरूपमा सञ्चालन हुने हो भने पोखरियालगायत सो आसपासका क्षेत्रका बासिन्दाले समेत सहज स्वास्थ्य सेवा पाउने हुँदा यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ।


प्रकाशित मिति: : 2021-06-28 09:39:00

प्रतिकृया दिनुहोस्