सुदूरपश्चिममा दुई दिनयता मृत्यु दर शून्य

बिएल संवाददाता

सुदूरपश्चिम

कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगवाट सङ्क्रमित हुनेको मृत्यु दर शून्यमा झरेको छ।

गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ।

यो अवधिमा एक हजार ८९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। ४४४ जना उपचार व्यवस्थापन पछि घर फर्किएका छन्।

दोस्रो लहर फैलिएयता प्रदेशमा पहिलो पटक गएको जेठ २५ गते पनि मृत्यू दर शून्य रहेको थियो।

प्रदेशमा अहिलेसम्म ४३ हजार४४२ सङ्क्रमित पुगेका छन्। प्रदेशमा अहिले सम्म दुई लाख ५९ हजार ८८७ जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ।

दोस्रो लहरको कारोना भाइरस फैलिएयता गएको जेठ ७ गते एकै दिनमा प्रदेशमा सबै भन्दा बढी ९८४ जना नयाँ सङ्क्रमित थपिएका थिए। प्रदेशमा सबै भन्दा बढी एकै दिन ३१ जना सङ्क्रमितको मृत्यु भएको थियो।

कोरोना भाइरसको रोकथामका लागि जारी गरिएको निषेधाज्ञा प्रदेशका जिल्लाहरुमा पछिल्लो हप्तादेखि केही खुकुलो परिएको छ। पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुने दर घटेको देखिएपनि सङ्क्रमणको जोखिम यथावत रहेको स्वास्थ्यकर्मीको भनाइ छ।

निर्देशनालयको तथ्याङ्क विश्लेषण गर्दा हालसम्म प्रदेशमा जम्मा नमूना परीक्षण गरिएका मध्ये ४३ हजार ४४२ जना अर्थात झण्डै १७ प्रतिशतमा सङ्क्रमण भएको पाइएको छ।  सङ्क्रमित हुने मध्ये ५७० जना आर्थात एक दशमलब ३१ प्रतिशतको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2021-06-26 10:31:00

प्रतिकृया दिनुहोस्