विकासको बाधक बन्दै असारे विकास संस्कृति

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले असारे विकास संस्कृति परिणाममुखी विकासको बाधक भएको बताएका छन्।

उर्जा मन्त्रालयका सचिव, योजना महाशाखा तथा दशवटै जिल्लाका कार्यालय प्रमुखसँगको आजको भर्चुअल बैठकमा मन्त्री श्रेष्ठले असारको अन्त्यतिर गरिने विकासले कामको गुणस्तरमा प्रश्न चिन्ह खडा गर्ने जनाए। तोकिएकै समयमा बजेट कार्यान्वयन गर्ने परम्पराको विकास गर्न मन्त्रालयले कार्यान्वयनमुखी बजेट ल्याएको उनको दावी छ।

“असार महिनाको अन्त्यतिर निर्माण कार्य सम्पन्न गरेर प्रगति विवरण बुझाउने विद्यमान संस्कृतिको अन्त्य गर्न सबै क्षेत्र लाग्नुपर्दछ”, उनले भने, “परम्परागत विकासशैलीको निरन्तरताले आजको व्यवस्था प्रणालीलाई पनि त गिज्याइरहेको छ नि ? सबैले इच्छाशक्ति देखाएर आ–आफ्नो दायित्व पुरा गरौं। हरेक योजनाहरु निर्धारित समयमै सम्पन्न हुन्छन्। असार कुर्नै पर्दैन।”

आगामी आवको बजेट समयमै कार्यान्वयन गर्नेतर्फ अहिलेदेखिनै योजना बनाउन कार्यालय प्रमुखहरुलाई उनले निर्देशन दिएका छन्।

“मन्त्रालयले वितरणमुखी होइन, कार्यान्वयनमुखी बजेट ल्याएको छ। बेलैमा सम्पन्न गर्ने लक्ष्यका साथ अहिलेदेखिनै योजना बनाउनतर्फ लाग्नुहोस्”, मन्त्री श्रेष्ठले भने।

प्रकाशित मिति: : 2021-06-26 10:07:00

प्रतिकृया दिनुहोस्