स्वास्थ्य क्षेत्रमा बजेट अभाव हुँदैन: मुख्यमन्त्री नेपाली

फाइल तस्वीर
फाइल तस्वीर

हरि बास्तोला

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशवासीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले कोरोना महामारीमा नागरिकको जीवन रक्षा गर्न बजेटको अभाव नरहने स्पष्ट पारे।

उनले भने,'कोरोना भाइरसको रोगथाम एवम् नियन्त्रणका लागि तीनै तहका सरकारको समन्वय आवश्यक छ। सङ्घले अनुदानका रुपमा पाउने र खरिद गर्ने वाहेक पनि निजी क्षेत्रबाट खोप खरिद गर्न सकिने प्रावधानका बारेमा समेत प्रदेश सरकारले अध्ययन गरिरहेको छ।'

सङ्घीयताको आधारस्तम्भ स्थानीय तहलाई थप बलियो र अधिकार सम्पन्न गराउन सङ्घ र प्रदेश सरकार लाग्नुपर्नेमा जोड दिंदै उनले स्थानीय तहको संस्थागत विकासका माध्यमबाट लोकतन्त्रलाई सुदृढ बनाउनुपर्छ भने।

उनले संविधानमा उल्लेखित साझा अधिकारका सूची कार्यान्वयनमा साझा दृष्टिकोण भने बनाउनुपर्ने आवश्यकता औल्याउँदै विकास निर्माण र राजश्वका योगदानमा समेत स्थानीय तह र प्रदेश सरकारबीच थप साझेदारी र सहकार्यको खाँचो औल्याए।

उनले कोरोना नियन्त्रण र प्राकृतिक प्रकोप पीडितको व्यवस्थापनमा प्रदेशले बनाएका योजनामा महानगरबाट सहयोगको अपेक्षा गरेको र  प्रदेशको प्राथमिकतामा रहेको कोरोला, पोखरा, त्रिवेणी सडकका निर्माणमा समेत सहकार्य गर्न सकिने बताए।

प्रदेश सरकारले घोषणा गरेको स्तन क्यान्सरको निशुल्क उपचार, ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार, विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रममा पनि स्थानीय तहसंग सहकार्य गर्न सकिने मुख्यमन्त्री नेपालीले विश्वास व्यक्त गरे। सो अवसरमा उनले महानगरले प्रकाशन गरेको कानुनहरुको संगालोको सार्वजानिक समेत गरेका थिए।

महानगरपालिकाको चालु बजेट रु ६ अर्ब २७ करोड ७५ लाख

नगर सभामा  महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षका लागि रु ६ अर्ब २७ करोड ७५ लाखको बजेट सार्वजनिक गरिन्। विनियोजित बजेटमध्ये चालुतर्फ रु २ अर्ब ९१ करोड, पूँजीगत तर्फ रु ३ अर्ब ३७ लाख  छ। महानगरले चालु आवका लागि रु ५ अर्ब ७२ करोडको बजेट ल्याइएको थियो।

सार्वजनिक गरिएको बजेटमा केन्द्रगत खर्च तर्फ रु  ८८ करोड ८६ लाख, सामाजिक विकास तर्फ रु १२ करोड ७९ लाख ८९ हजार, शिक्षातर्फ रु १ अर्व ४२ करोड ८७ लाख ३५ हजार, कृषितर्फ रु १४ करोड ४९ लाख , स्वास्थ्यतर्फ रु ४० करोड २२ लाख, वडाकार्यालयतर्फ रु ४१ करोड ६० लाख, पूर्वाधार विकासमा रु २ अर्ब ८६ करोड ९० लाख प्रस्ताव गरिएको  छ। महानगरपालिका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा भएको नीति तथा कार्यक्रम एवम् बजेट माथि छलफल जारी छ।  रासस

प्रकाशित मिति: : 2021-06-24 17:42:00

प्रतिकृया दिनुहोस्