आर्थिक वर्षका लागि तीन अर्बको बजेट ल्याउने वीरगंज महानगरको तयारी 

वीरगंज महानगरले असार १०, ११ र १२ गते गर्ने नगरसभाको नौं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०७८/७९ को लागि करिब रु ३ अर्बको बजेट ल्याउने तयारी गरेको छ। 

महानगरका लेखापरीक्षक हरिशङ्कर कुर्मीले रु २ अर्ब ८० करोडदेखि ३ अर्बको बजेट आउने बताए। जसमा आन्तरिक स्रोतबाट रु ६० करोड जुटाउनुपर्ने गरी करको दायरा बढाउन महानगरका कर्मचारीहरूले गृहकार्य गरिरहेको बताए। 

सवारी शुल्क, मालपोत, पार्किङ, सम्पत्ति कर, घरबहाल करलगायतबाट रकम उठाउने महानगरको तयारी छ। त्यसैगरी, महानगरले केन्द्र सरकारबाट सशर्त अनुदानतर्फ ७६ करोड ५१ लाख, विशेषतर्फ ११ करोड ६२ लाख, समपूरकतर्फ ११ करोड २६ लाख, वित्तीय समणीकरणतर्फ ४६ करोड १६ लाख, राजस्व बाँडफाँडतर्फ २१ करोड २६ लाख गरी कुल रु १ अर्ब ६६ करोड ८१ लाख अनुदान प्राप्त गर्नेछ।

त्यसैगरी, प्रदेश सरकारबाट पाउने अनुदानमा महानगरले राजस्व बाँडफाँडतर्फ ३ करोड १४ लाख, वित्तीय समाणीकरणतर्फ १ करोड १६ लाख, समपूरकतर्फ ७५ लाख, विशेषतर्फ १ करोड गरी कुल रु ५ करोड ९ लाख प्राप्त गर्नेछ। सशर्त अनुदानतर्फको सिलिङ अहिले प्रदेश सरकारले पठाएको छैन। अर्थात् पोहोर ३ करोड सशर्त अनुदानतर्फ पठाएकोमा सोही दरमा आगामी वर्षमा पनि सशर्ततर्फ अनुदान आउने  आंकलनगरिएको छ।

आन्तरिक स्रोतको ६० करोड, केन्द्रबाट करिब १ अर्ब ६७ करोड र प्रदेशबाट ८ करोड गरी कुल रु २ अर्ब ३५ करोड हुन आउँछ। २ अर्ब ८० देखि ३ अर्ब रुपैयाँको बजेटमा बाँकी रकम एशियाली विकास बैंकको अनुदानमा चल्ने परियोजनाको ४० देखि ६० करोड रुपैयाँ समावेश गरी बजेट ल्याउने तयारी भइरहेको बताइएको छ। 

प्रकाशित मिति: : 2021-06-22 20:35:00

प्रतिकृया दिनुहोस्