मध्यपुरथिमिका सबै वडामा एन्टिजिन र पिसिआर परीक्षण

रमेश गिरी

भक्तपुर
Symbolic photo
Symbolic photo

मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगर क्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको अबस्था पहिल्याउन सबै वडामा निःशुल्क एन्टिजिन र पिसिआर परीक्षण सम्पन्न गरेको छ।

परीक्षणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा, स्वास्थ्य मन्त्रालयका सहसचिव डा.महेन्द्र श्रेष्ठ, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश संभाजीराव पाण्डबसहितको टोलीले परीक्षणको आज बिभिन्न केन्द्रमा अनुगमन तथा निरीक्षण गरेका थिए। टोलीलाई नगर प्रमुख मदनसुन्दर श्रेष्ठले एन्टिजिन र पिसिआर परीक्षणका बारेमा जानकारी गराएका थिए।

नगरपालिकाले आज साँझसम्म सबै वडाको तथ्याङ्क सङ्कलन गरी आइतबार प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ। परीक्षणमा कोरोना सङ्क्रमण  पुष्टि भएकालाई निःशुल्क आइसोलेसन र उपचार गरिने उनले बताए। एकै पटक १० हजारको एन्टिजिन र पिसिआर परीक्षण गर्ने उद्देश्य रहेको थियो।

सबै वडामा परीक्षण गरेपनि सहभागिता भने थियो। भक्तपुर जिल्ला सङ्क्रमित र मृत्यु दर सबभन्दा बढी हुने बताइएको छ।  सो नगरपालिकाले चिनियाँ मोडलमा नेपालमै पहिलो पटक एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरी कोभिड–१९ सङ्क्रमणको विश्लेषण गर्ने भएको हो।

'नगरबासी कोरोनाबाट कति सुरक्षित छन्, जोखिमको अबस्था कस्तो छ, भावी रणनीति कस्तो बनाउने भनेर बिभिन्न कोणबाट विश्लेषण गर्न परीक्षणका लागि स्थानीयको नमूना सङ्कलन गरेका हौ।' नगर प्रमुख श्रेष्ठले भने, 'चीनले यहीँ बिधिबाट परीक्षण गरेको यो चिनियाँ मोडल हो, मध्यपुरथिमि नगरपालिकाले नेपालमा पहिलो पटक यो मोडलमा परीक्षण गर्ने भएको हो।'

परीक्षणका लागि नगरपालिकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको व्यवस्थापनसहित यहाँका स्वास्थ्यकर्मीलाई परिचालन गर्ने भएको छ। परीक्षणको रिपोर्टसहित २४ घण्टाभित्र दुबै रिपोर्ट सार्वजनिक गरिने उनले बताए।

पछिल्लो समयमा निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा कोभिड सङ्क्रमणको अबस्थामा कस्तो छ भनेर यसलाई बिज्ञमार्फत अनुसन्धानको रुपमा मूल्याङकन गर्न सकिने छ। यसैको आधारमा उपत्यका नरपालिका फोरमलाई आगामी दिनमा नीति निर्माण बनाउन सहयोग पुग्ने नगरपालिका फोरमका सचिवसमेत रहेका श्रेष्ठको भनाइ छ।रासस

प्रकाशित मिति: : 2021-06-19 20:36:00

प्रतिकृया दिनुहोस्