तामाकोशी नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेकाे छ।
नेपाल–चीन सीमा क्षेत्रको टिङ्ग्री काउन्टी, रोङजिया शहर र त्यस आसपासमा गएको पहिरोले नदी थुनिएपछि तामाकोशी नदीमा बाढी आउने चेतावनी दिइएको छ।
भारी वर्षापछि पहिरो गई नदीको प्रवाह रोकिएको प्रशासनले जनाएको छ। तामाकोशी नदीमा जुनसुकै बेला पनि बाढी आउनसक्ने दाेलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै प्रशासनले तामाकोशीमा पानीको बहाव बढेर आउन सक्ने भएकाले सुरक्षित स्थानतर्फ जान अनुरोध समेत गरेको छ। खतराको संकेत प्राप्त हुनासाथ स्थानीय सरकारका पदाधिकारी र सुरक्षा निकायमा सम्पर्क गर्न भनिएको छ।
दाेलखा प्रशासनको चेतावनीसँगै नदी तटीय क्षेत्रमा रहेका खुर्कोट, ग्वालटार, सोलपा, बलखुबेंसी, घुर्मी, हर्कपुर र नदीको तल्लो क्षेत्रमा रहेका बस्तीहरुमा जोखिम बढेको छ।
प्रशासनले सबै क्षेत्रमा सूचना दिइ सतर्क गराउन पनि सबैमा अनुरोध गरेको छ।