काबुलस्थित अमेरिकी दूतावासमा कोभिड–१९ बाट ११४ सङ्क्रमित, एकको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासमा अत्यधिक व्यक्तिमा कोभिड–१९ सङ्क्रमणपछि दूताबास क्षेत्रलाई लकडाउन गरिएको छ।

दूताबासका एक कर्मचारीको मृत्यु भएको र ११४ कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको युएसए टुडेले दूताबास अधिकारीलाई उद्धृत गरी जानकारी गराएको छ।

धेरै कर्मचारी सङ्क्रमित भएपछि अमेरिकी अधिकारीहरुले अस्थायी कार्यस्थल बनाई प्रशासनिक कामलाई निरन्तरता दिइएको बताइएको छ।

दूतावासको स्वास्थ्य एकाईका कर्मचारी शेन पियर्सद्वारा जारी सूचनामाभनिएको छ, 'कोभिड–१९ को सङ्क्रमण काबुलस्थित अमेरिकी नियोगमा समेत देखिएको छ। शुक्रबारसम्म दूताबासका ११४ जना सङ्क्रमित भेटिएका छन् भने एकको मृत्यु भएको छ।'

दूताबास स्रोतका अनुसार अमेरिकी सैनिक अस्पतालमा सघन उपचार एकाइ तयार गरी  अक्सिजन चाहिने कर्मचारीहरूलाई सेवा दिइएको छ।

भाइरसको पछिल्लो प्रकोपले विभिन्न देशमा रहेका अमेरिकी वैदेशिक सेवा संघ (एएफएसए) लाई प्रभाब पारेको छ। अमेरिकी राष्ट्रपति जो बिडेनलाई विदेशमा रहेका सबै सरकारी कर्मचारीहरूलाई केही अपवादको साथ खोप लगाउन पनि आग्रह गरेका छन्।

एएफएसएका प्रमुख एरिक रुबिनले भने, “हाम्रो बुझाइ यो छ कि विश्वका प्रत्येक नियोग तथा दूतावासका लागि पर्याप्त खोप रहेको छ यसलाई समयमै लगाउन प्रशासनले आग्रह गर्दछ।” 

अफगानिस्तानमा देशब्यापी सङ्क्रमणपछि गत हप्ता, अफगानिस्तानका अमेरिकी कूटनीतिक नियोगले दूतावासको कन्सुलर सेक्सनमा भिसा सञ्चालनलाई स्थगित गरेको थियो। 

दूताबासमासमेत प्रकोपको असर भेटिएपछि दूतावासको कन्सुलर सेक्शनले जुन १३ देखि अनिश्चित समयका लागि अतिआबश्यकबाहेकका काम स्थगित गरिरहेको छ।

जोन्स हकिन्स विश्वविद्यालयका अनुसार अफगानिस्तानमा हालसम्म ९६ हजार ५३१ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको छ भने सङ्क्रमितमध्ये तीन हजार ८४२ जनाको मृत्यु भएको छ। रासस/एएनआई

प्रकाशित मिति: : 2021-06-18 20:00:00

प्रतिकृया दिनुहोस्