साहुसँग 'डिनर'

दिलिप बान्तावा

भोजपुर (हाल दक्षिण कोरिया)
Breaknlinks
Breaknlinks

लमतन्न फैलिएको अनन्त लाग्ने समुन्द्रमाथि तैरिरहेझैँ देखिन्छ, ओर्लदो घाम। घामको किरणले गर्दा मैले देखिरहेको आधा समुन्द्र पहेँलपुर देखिन्छ। म समुन्द्रको किनारबाट करिब दुई किलोमिटर जति समुन्द्रको बीचतर्फ ओछ्याइएकाे फूट ब्रिजमा हिँडिरहेको छु। 

आज लामो समयपछि कम्पनीबाट साहुसँगै बाहिरिने मौका मिलेको हो। कोरोनाले गर्दा निक्कै कडा सुरक्षा मापदण्ड अपनाईएकोमा केही दिनयता अलि खुकुलो बनाईएपछि मान्छेहरुको आवत-जावत र चहल-पहल केही बढेको छ। कम्पनी साहुले आफ्ना आफन्त तथा केही अन्य कम्पनीका उसका साथीहरुलाई खानपिनका लागि निम्तो दिएको रहेछ। त्यो अवसरमा मलाई पनि लिएर आएको हो। अक्सर म एकलानुभूतिमा रमाउने मान्छे। भिँडभाड वा जमघटहरुले खासै तान्दैन। साहुहरुसँग हिँड्न त अझ सकसपूर्ण लाग्छ। तर आज भने समुन्द्र किनार नजिकैको रेष्टुरेन्टमा जाने भनेपछि अलि उत्साहित भएर हिँडेको हुँ। 

उनीहरु यतिखेर खानपान र गफमै भुलिएका छन्। शुरुमा हामी पुग्यौं रेष्टुरेन्ट। त्यसपछि दुई वटा गाडी हाम्रै गाडीनिरको पार्किङ्गमा थपिए। ती साहुका पाहुना रहेछन्। उनका बहिनी ज्वाइँ र बहिनी ज्वाइँका छोरी ज्वाइँ। उनीहरु आएपछि पहिलो चरणको खानपान शुरु भयो।

मेरो परिचय गराए। सामान्य शिष्टाचार र केही सवाल जवाफ मसँग नि भयो। उनीहरु मध्ये एक जनाले सोध्यो, "एभरेष्ट तिम्रो घरदेखि कति टाढा पर्छ?"

यहाँका मान्छेहरुको पहिलो प्रश्न प्राय यही हुने गर्दछ। "मेरो आँगनदेखि देखिन्छ। तर पुग्नलाई धेरै टाढा छ।",मैले जवाफ फर्काए।

"वाह्! कत्ति भाग्यमानी तिमी।" मेरो उत्तर सुनेर चकित हुन्छ।

उनीहरुलाई आफ्नै आँगनमा समुन्द्र भए जत्तिकै त हो नि हाम्रा लागि हिमश्रृंखलाहरुमा आँखा ठोक्किनु त। तर म केही बोलिनँ, बस् मुसुक्क हाँसिदिएँ।

त्यहाँ आएकाहरुसँग यसअघि कहिलेकाहीँ कम्पनीमा आउँदा भेट भएको त हो, तर कुराकानी भएको थिएन। साहुले उनीहरुलाई मेरोबारे भन्न थाल्यो, "यो त नेपालमा विश्वविद्यालाय पढेको हो नि।"

पाहुनाहरु अचम्मित हुन्छन्। उनीहरुले बोलेको उस्तरी जम्मै कुरा बुझ्दिनँ। तर अनौठो मानेको कुरा प्रष्ट देखिन्छ।

"यहाँ आउनुअघि अंग्रेजी पढाउँथ्यो।" साहुले अझ थपिदिन्छ।

"तिमीलाई अंग्रेजी बोल्न आउँछ?" एउटा पाहुनाले सोध्यो मलाई। सागमा अचार र अक्टोपसको टुक्रा पोको पारेर मुखमा हाल्न लागेको थिएँ। मुसुक्क हाँसेर "हो" भन्दै मुन्टो झुकाएँ।

उसले केही शब्द टुक्रे अंग्रेजी बोल्यो आफ्नै लवजमा। मैले उसरी नै अंग्रेजीमा जवाफ दिएँ। उसले दाहिने हात मुठ्ठी बनाएर मतिर बढायो, मैले पनि त्यसै गरेँ। हामी दुबैको मुठ्ठी टेवलमा राखिएको किम्चिको कचौरामाथी ठोक्कियो।

नेपालीका लागि सामान्य अंग्रेजी बोल्नु अनौठो होईन। हाम्रा मातृभाषाहरु हर पुस्तामा खुम्चँदै जाने क्रममा कत्ति त हराउन लागिसके। तर अंग्रेजी भाषाको घनत्व बढिरहेकै छ। सायद यो पनि एउटा उपनिवेश नै क्यार, भाषिक उपनिवेश। जुन चिजमा गति वा निरन्तरता अर्थात प्रयोग हुँदैन, त्यो चिज कालान्तरमा हराएर जान्छ भन्ने मान्यता विज्ञानको छ।

हाम्रा मौलिकभाषाहरु पनि उसरी नै गतिशिलताको अभावमा हराउन लागेका हुन्। भाषाको गति भनुँ वा प्राण, त्यो भनेको त्यसको प्रयोग हो। भाषाको प्रयोग भनेको हाम्रो दैनिकीहरुलाई सरल र सहज बनाउनका लागि प्रयोग गरिन्छ। दैनिकी भन्नाले श्रम, रोजगार, किनबेच, सामाजिक जमघट ईत्यादी। यी सबै ठाउँमा सबैलाई सहज हुने भाषा बोल्नै पर्‍यो। अनि तत् ठाउँहरुमा प्रयोग गरिने औपचारिक र अनौपचारिक भाषामा विभेद हुँदै प्राथमिकताको सूचीबाट मौलिक भाषाहरु तल पर्दै गए, जसले आज ती भाषाहरु मरणासन्न अवस्थामा छन्।

हामीले नचाहेर पनि अंग्रेजी भाषाप्रति कृतज्ञ हुनु परेको छ। हामीसँग आफ्नै श्रम बजार छैन। हामीसँग आफ्नै औद्योगिक उत्पादन छैन। यी दुबै चिजमा पर निर्भर हुनु परेकैले अंग्रेजी भाषा हाम्रो अनिवार्य भाषा बनिदियो। अंग्रेजी भाषा सँगसँगै यसले बोकेर ल्याउने संस्कृति पनि अपनाउनै परेको छ।

भाषा भन्ने बित्तिकै केवल भाषा मात्रै आउने होइन रहेछ। त्यो भाषाले ढाकेर राखेको संस्कृति र सभ्यता पनि भाषा सँगसँगै रहने रहेछ। त्यसैले त हाम्रा मातृभाषाहरु सँगसँगै हामीले हाम्रा मौलिक संस्कृति र सभ्यताहरु पनि मारिरहेका छौँ, यतिबेला। तर कोरियनहरुलाई सामान्यतया अंग्रेजी भाषा सिकिरहन जरुरी छैन। उनीहरुको आफ्नै व्यापक श्रम बजार छ। अत्याधुनिक उत्पादनहरु छन्। आफ्नै घरेलु प्रविधि छ। हरेक चिजमा उनीहरुको आफ्नै 'ब्राण्ड' बनिरहेको छ।

यो अवस्थामा उनीहरु बरु आफ्नो भाषा, संस्कारलाई निर्यात गर्ने अवस्थामा पुगिसकेका छन्। यसको उदाहरणका रुपमा आज लगभग पुरै एसियाली देशहरुमा कोरियन फेशनको लहर छ। उसैगरी धेरै देशका मानिसका लागि कोरियन खाना रोजाईमा परिरहेको छ। कोरियाको रोजगारीका लागि हरेक विदेशीहरुले अनिवार्य कोरियन भाषामा दक्षता हासिल गरेको नतिजा आवश्यक छ। त्यस कारण अंग्रेजी उनीहरुका लागि जरुरी नै छैन। यद्यपि, अंग्रेजी भाषा जान्नेहरुलाई भने विशेष मान्ने गर्दछन्। अंग्रेजी प्रतिको उनीहरुको चासो चाखलाग्दो लाग्छ।

म आफ्नै लयमा काँचो माछाको टुक्रा, अक्टोपसको टुक्रा, किम्ची, द्वेन्जाङ्(भट्मासको लेप), सिलामको पात, चट्नी, लसुन, प्याज ईत्यादी पालैपालो टिप्दै खादै थिए। अघिकै पाहुनाले सोजु (कोरियन परम्परागत रक्सी) पिउन आग्रह गर्‍यो। सोजु पिउने सानो र आकर्षक ग्लास मतिर सोझ्यायो। त्यसो त त्यो ग्लासमा राखिएको रक्सी हाम्रो लागि एक घुट्को हो। तर उनीहरु त्यसरी पिउँदैनन्। यसरी पिउँछन्, मानौँ थोपा थोपा गनेर पिईरहेका छन्। मैले नपिउने संकेत जनाएँ। उनीहरुको "रक्सी संस्कृति" मलाई अलि असहज लाग्छ। आफूभन्दा ठूलाहरुसँग हुँदा उनीहरुका अगाडि बसेर रक्सी पिउन हुँदैन। मुन्टो लुकाएर पिउनुपर्छ।

मलाई यसो गर्न ज्यादै अप्ठ्यारो लाग्ने। हामी त  एउटै तपेस वा मटिया वा आरीमा छानिराखेको जाँड बाउ-आमा, छोरा-छोरी, साना-ठूला सबै मिलेर सँगै पिउने संस्कृतिमा हुर्केर आएको। एउटै बोतलबाट सबैले सारेर सँगै पिउँदै आएको हो। अनि यहाँ भने थोपा-थोपाको हिसाबले पिउनुपर्ने त्यो पनि मुन्टो बटारेर मुख र ग्लास जोडिएको नदेखिने गरि पिउनुभन्दा नपिउनु वेस्। यस्तै लागेर उनीहरुसँग हुँदा पिउँदिनँ। बरु एक्लै बसेर पिईदिन्छु।

केही समयपछि साहुका साथीहरु आईपुगे। उता दुई वटा टेबल खाली थिए, अघिदेखि। त्यो उनीहरुका लागि रहेछ। ती पनि साहु रहेछन् र म जस्तै कामदारहरु उनीहरुकहाँ काम गर्दा रहेछन्। केही नेपाली कामदार पनि रहेछन्। साहु-साहुका बीच कुरा चल्यो एकछिन्। आफ्ना कामदारहरुको काम, आनी-बानी ईत्यादिमा गफिए। केही कुरा बुझेँ, धेरै बुझिनँ। नेपाली कामदारहरु अरुभन्दा अलि चलाख हुन्छन् भन्ने उनीहरुको ठम्याई थियो।

मेरो साहुले भन्यो, "मेरो कामदार ठिकै काम गर्छ तर धेरै समय गर्नु पर्दा सार्‍है रिसाएर काम गर्छ।"

अनि दुबै मलाई हेर्दै हाँसे। म चुपचाप आफ्नै सुरमा रहेँ।

"कोरियन खाना राम्ररी खाने रहेछ।" साहुको साथी साहुले मलाई इङ्गित गर्दै भन्यो।

"मेरो कामदारहरु त कोरियन खाना खाँदैनन्, मन पराउँदैनन्", फेरि थप्यो। मलाई खानपिनमा खासै समस्या हुँदैन। मान्छेले खाएको चिज जुनसुकै भए पनि खान्छु। खाँदै खान्न भन्ने कुरा खासै छैन।

हामीलाई यहाँ आउँदा सम्झौता गराईएको हुन्छ। काम गर्ने समय, बिदा, खान-बस्न पाउने/नपाउने, यहाँ बस्ने अवधि, तलब ईत्यादि सबैमा। तर अक्सर कृषि क्षेत्रका कामदारलाई ती सम्झौताहरुले खासै नछुने रहेछ। कहिलेकाहिँ १४/१५ घन्टा काम गर्नुपर्छ। महिनामा एकैदिन छुट्टि नबसी काम गर्नुपर्छ। थप समय काम गरेबापत् थप पारिश्रमिक पाउनुपर्ने हो, त्यो पनि नभएपछि रिस उठ्नु स्वभाविक हो। तर रिस उठ्नु मात्रै हो। त्योभन्दा बढी केही गर्न सकिन्न रहेछ। त्यो सम्झेर अझ रिस उठ्छ, बस्।

त्यो रिस चपाएरै बस्नु शिवाय विकल्प हुँदैन। उनीहरुको गफकै सिलसिलामा साहुले सुनायो, "यो त कविता पनि लेख्छ। कोरियन भाषामा यसको कविता आएको छ।"

एक क्षणका लागि सबैको आँखा एकोहोरो भैगए। 'यो मेशिनको शहर हो' नामक कविता सँग्रहमा कोरिया बस्ने ३५ जना नेपाली सर्जकहरुको २/२ वटा कविता कोरियन भाषामा अनुवाद गरि प्रकाशित गरिएको छ। त्यही किताब केही समयअघि उसलाई देखाएको थिएँ, मेरो कोठामा आईपुग्दा।

बेला न कुबेला 'के गर्दैछ?' भन्दै कोठामा आईरहन्छ। त्यसैगरी एकदिन त्यही कविता संग्रह हेर्दै गर्दा साहु टुप्लुकिएथ्यो।

उसले चाखपूर्वक हेर्‍यो र लिएर गयो। दुई दिनपछि फिर्ता गर्‍यो। "धेरै राम्रो कविता लेख्ने नेपालीहरु रहेछ।", किताब दिँदै गर्दा उसले भनेथ्यो।

संग्रहको प्रकाशकहरुका अनुसार सो कविता संग्रह निक्कै मन पराईएको छ, कोरियामा। गत वर्ष यहाँको प्रतिष्ठित "रेड अवार्ड" पाएको संग्रहको दोस्रो संस्करणसमेत आउन लागेको छ।

यी सबै कुराहरु सुनेपछि उनीहरुको जिज्ञासा रहन्छ, त्यस्तो क्षमता भएको नेपालीहरु किन कोरियामा आएर यस्तो न्यूनस्तरको काम गर्छन्?

मलाई पनि यस्तै प्रश्न सोध्यो साहुको बहिनी ज्वाइँले, "त्यति धेरै पढेको रहेछ। तिमीले गरिरहेको काम त थोरै पढेको र अन्य ठाउँमा कुनै रोजगारी नपाएकोले मात्रै गर्ने काम हो। किन यस्तोमा काम गर्न आएको?"

उत्तरहरु त थुप्रै छन्, यो प्रश्नको। तर जवाफ कुन दिने?

राजनैतिक बेथितिले थिलथिलो भएको अर्थ व्यवस्थाकाे कुरा गर्ने कि, असिमित भ्रष्टाचारले थला परेको प्रणालीका कारण भन्ने? उनीहरु भन्छन्, तिमीहरुको देश त अनुकुल मौसम छ, उत्पादन राम्रो हुन्छ। डाँडाकाँडा-हिमाल प्रशस्तै छन्। आफ्नै देशमा मेहनत किन गर्दैनौ? लामो समय अशिक्षा र गरिबीमा रहनुपर्‍यो भन्ने हो भने सन् ६०को दशकसम्म भोकमरिले छियाछिया भएको कोरिया आज विश्वको सबैभन्दा विकसित डेढ दर्जन देशहरुको सूचीमा अटाईसकेको उदाहरण अगाडि उभिएको छ। जतिबेला कोरियामा भोकमरी चलिरहेको थियो, त्यतिबेला नेपालले खाद्यान्न सहयोगसमेत गरेको किस्सा सुन्छौँ, हामी। तर आज उनीहरुले सोध्ने एउटा प्रश्नको जवाफमा ओँठे हाँसो हाँसेर टार्नुको उत्तम विकल्प भेटिन्न।

साहुले अक्सर सम्झाईरहन्छ, मलाई। लामो समय विदेश बस्नु हुँदैन। विदेशको मेहनतले कमाएर जम्मा गरेको पैसा प्रयोग गरी आफ्नै देशमा परिश्रम गर्नुपर्छ भन्ने, उसको कुरा। सम्झाएर मात्रै बुझेको त होईन यो। हामी सबैलाई थाहा छ, गर्ने त त्यही नै हो भनेर। तर हाम्रो हविगत र सम्भावना हामीलाई मात्रै थाहा छ। आज हरेक युवाहरु देशमा बस्न चाहदैनन्। उनीहरुको निष्कर्ष छ, पढेर पनि केही गर्न सकिन्न। वा अलि राम्रो पढ्न सके राम्रो देशतिर जान सकिन्छ। अधिकांश युवाहरु यही मानसिकताबाट गुज्रिरहेको पाउँछौँ, हामी।

यो मानसिकतालाई परिवर्तन गर्ने कुनै नीति वा गतिविधि राज्यले फलदायी ढंगले गर्न सकेको छैन। न त स्वदेशमै बसेर मेहनत गर्छु भन्नेहरुलाई उचित वातावरण नै बनाईदिन सकेको छ।

साहु तथा साहुका पाहुनाहरु विस्तारै गफ गर्दै खाने पिउने क्रममा छन्। मैले भने स्लाईस गरिएको काँचो माछा, अक्टोपस, रोष्ट गरिएको माछा र फेरि पोलेको माछा खाईसकेपछि सरासर एक कचौरा भात र गोरुको मासुको सुप खाइदिएँ।

उनीहरु आफ्नै लयमा हुँदै गर्दा म बाहिर निस्किएँ। मुल सडक पार गरेर यो फूट ब्रिजमा चढेँ। मान्छेहरुको ओहोर-दोहोर बाक्लै छ। अलि परको बालुवा र समुन्द्रको छालको सिमानामा बसेर सीमाहिन प्रेममा मग्न जोडीहरु थुप्रै देखिन्छन्। केटा-केटीहरु खतराको संकेत राखिएको ठाउँभन्दा वरैसम्म पौडिरहेका छन्। बालुवै बालुवाको किनारभन्दा निक्कै पर लहरै क्याफेहरुमा मानिसहरु टेवलभरी बसिरहेका देखिन्छन्।

फूट ब्रिजलाई विभिन्न आकार दिएर डिजाईन गरिएको छ। ठाउँ-ठाउँमा आराम गर्दै दृष्यावलोकन गर्ने बेन्चहरु राखिएका छन्। केटा-केटीलाई खेल्ने स-साना पार्कजस्ता ठाउँहरु पनि छन्। बीचतिर पुग्दा पानीको छालसँग हुत्तिँदै स-साना मोटरबोटहरु पानीमा खेलिरहेका देखिए। कुनैमा दुई जना, कुनैमा एक जना। त्यो दृष्यले जि एस पौडेलको उपन्यास "एक सर्को माया" मा व्याख्या गरिएको मालदिभ्सका दृष्यहरुको कल्पनामा पुगेछु, एकछिन।

ब्रिजको रेलिङ् समातेर टहलिँदै गर्दा ओहोर दोहोर गर्नेहरुले मलाई नियालिरहेका थिए, अघिदेखि। म अल्मलिएँ। किन यसरी सबैले हेरे? भर्खरै झल्याँस्सै सम्झेँ, अघि रेस्टुरेन्ट्मा खाना खाँदै गर्दा मास्क मुखबाट निकालेर ज्याकेटको गोजीमा राखेथेँ।

सबै मास्क लगाएर डुल्दै गर्दा म मास्क नलगाई नै डुली हिँड्दै रहेछु। समय यस्तो आयो, अहिले। कुनै समय मास्क लगाउने मान्छेलाई मान्छेहरु शंकास्पद नजरले हेर्ने गर्दथे। कतै यो मान्छे अपराधी हो कि? वा कुरुप अनुहार भएर छोपिरहेको छ? तर अब मास्क नलाउने मान्छेलाई मानसिक सन्तुलन गुमेको मान्छे भन्ठान्ने समय आयो। त्यसैले भनिन्छ, हरेक सत्यहरु क्षणिक हुन्छन्। हिजोको सत्य कुरा भोली गलत भईसक्छ।

घामका किरणहरु पूर्णतः क्षितिजमा लुकिसकेका छन्। तर भर्खरै घाम छोपिएको आकाश र समुन्द्र एकै सतहजस्तै देखिरहेको छ र आकाशको त्यो विन्दु अत्यन्तै सुन्दर र कलात्मक देखिएको छ। निक्कै पर समुन्द्रको बीचतिर एक हुल बकुल्लाहरु होला सायद, उड्दै त्यही क्षितिज ताकेर गए झैँ देखिए।

म भने फूट ब्रिजको अन्तिम विन्दुमा भएको "लाईट हाउस"निर 'स्माेकिङ जाेन'मा बसेर सिगरेट सल्काएको छु। क्रमशः उज्यालोको सत्ता धर्तीबाट उठ्दै गईरहेको छ। दृष्यहरु विस्तारै धुमिल एवं मधुरो हुँदै जान थालेका छन्। लाईट हाउसको टाउकोमाथि राखिएको ठूलो बल्ब दुधिलो किरण छर्दै समुन्द्र ढाक्नेगरिी बल्न थालेको छ।

चुरोटको अन्तिम सर्को तानेर नजिकै रहेको डस्बिनमा ठूटा मिल्काएसँगै यो गन्थनको अन्तिम लाईन सकेर म पटाक्षेप हुँदै गईरहेको केटा-केटीहरुको कल्याङ्-मल्याङ् पछ्याउँदै किनारातिर लाग्दैछु।

प्रकाशित मिति: : 2021-06-19 14:07:00

प्रतिकृया दिनुहोस्