आईएलओ घोटालामा एनआरएनए युएईका उपाध्यक्ष शेर्पा निर्दोष ठहर

गैर आवसिय नेपाली संघ (एनआरएनए) द्वारा युएईमा संचालन गरिएको आईएलओ परियोजनामा भएको आर्थिक घोटालामा एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पा निर्दोष रहेको पाईएको छ।

गतवर्ष अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को अनुदानमा एनआरएनए युएईद्वारा संचालित 'आरआरआर' परियोजनामा एनआरएनए युएईका अध्यक्ष प्रकाश कोईराला र उपाध्यक्ष पासाङ शेर्पालाई नेपाली करिब २० लाख रुपैयाँ अनियमितता गरेको आरोप लागेको थियो।

कोरोना प्रभावित नेपालीहरुको उद्दारका लागि प्राप्त रकममा अनियमितता भएको सार्वजनिक भएपछि एनआरएनए केन्द्रीय समितिले छानविन समिति गठन गरेको थियो। उक्त समितिले कोईराला र शेर्पा मिलेर युएई दिराम ६२ हजार ७ सय (नेपाली करिब २० लाख) अनियमिता गरेको निष्कर्ष निकालेको थियो।

छानविन समितिको प्रतिवेदन सार्वजनिक भएपछि एनआरएनए आईसीसीले कोईराला र शेर्पालाई निलम्बन गरि आन्तरिक अनुसन्धान थालेको थियो। आईसीसीको आन्तरिक अनुसन्धानबाट उक्त परियोजनामा कोईरालाले २ हजार २ सय ६१ डलर (नेपाली करिब २ लाख ६५ हजार) अनियमितता गरेको पुष्टि भएको छ।

एनआरएनए आईसीसीले बिहीबार एनआरएनए युएईका कार्यवाहक अध्यक्ष निरन्जन शिलवाललाई पत्र पठाउँदै परियोजनामा कोईरालाले अनियमितता गरेको पुष्टि गरेको हो।

पत्रमा आईसीसीको केन्द्रीय अनुगमन समितिले आन्तरिक तथा बाह्य लेखापरीक्षणका आधारमा परियोजनामा २ हजार २ सय ६१ डलरको हिसाब फर्छ्यौटमा फरक देखिएको उल्लेख छ। उक्त रकम  कोईरालाबाट जुन ३० भित्रमा असुल उपर गर्न निर्देशन समेत दिईएको छ।

एनआरएनएका कार्यकारी निर्देशक राजेश राणाद्वारा प्रेषित पत्रमा उपाध्यक्ष शेर्पाको निलम्बन जुन १० मा फुकुवा भएको उल्लेख छ भने कोईरालाको निलम्बन एनआरएनए युएईको जुलाई महिनामा हुने अधिवेशनसम्म यथावत रहने बताईएको छ।

निलम्बन फुकुवा भएपछि बिएल नेपाली सेवासंग कुरा गर्दै उपाध्यक्ष शेर्पाले आफूलाई फसाउन खोज्नेहरु विफल भएको प्रतिक्रिया दिए। उनले भने, "नखाएको विष नलाग्ने रहेछ।"

प्रकाशित मिति: : 2021-06-18 07:42:00

प्रतिकृया दिनुहोस्