ज्यान जोगाउन भारत पसे म्यान्मारका मुख्यमन्त्रीसहित नौ हजार शरणार्थी 

बिएल संवाददाता

आइजोल, मिजोरम

म्यान्मारका प्रायः प्रजातन्त्रवादी नेता/नेत्रीहरू भूमिगत अवस्थामा रहेका छन्। गत फेब्रुअरीको पहिलो सतादेखि कतिपयलाई सैन्य ‘जुन्ता’ शासनले नियन्त्रणमा लिएको छ।

सैन्य ‘कू’को क्रूर दमनपछि छिन् प्रान्तका जननिर्वाचित मुख्यमन्त्री सलाई  लियान लुआइ शरणका लागि भारतको मिजोरम आएका छन्। उनी झण्डै ४ महिनादेखि प्रान्तभित्रै लुकीछिपी बसिरहेका थिए।

मुख्यमन्त्री लुआइसँगै कम्तिमा ९ हजार २ सय ४७ म्यान्माली नागरिक शरण लिन मिजोरम आएका छन्।

छिन् प्रान्तका अपदस्त मुख्यमन्त्री भारत–म्यान्मार पार गर्दै सोमबार राति चम्फाई शहरमा आइपुगेको मिजोरमका एक वरिष्ठ प्रहरी अधिकारीले जनाएका छन्।

मुख्यमन्त्री लुआइसँगै नेशलन लिग फर डेमोक्रेसी पार्टीका झण्डै २४ निर्वाचित जनप्रतिनिधि मिजोरमका विभिन्न स्थानमा शरण लिइरहेका छन्। म्यान्मारको छिन् प्रान्त मिजोरमको पश्चिमी सीमासँग जोडिएको छ। 

मिजोरमका स्थानीयले शरणार्थीहरूलाई खाना तथा बस्ने व्यवस्था गरेका छन्। कतिपय मानिस तथा विद्यार्थी संगठनले उनीहरूको खानपिनको प्रबन्ध गरिरहेको अधिकारीहरूले बताएका छन्।

मिजोरममा शरण लिइरहेका अधिकाम्स नागरिक छिन् समुदायका हुन्। 

राज्यका दश जिल्लामा कम्तिमा ९ हजार २ सय ४७ म्यान्माली शरणार्थी बसिरहेको मिजोरम प्रहरीको अपराध शाखाले अनुमान गरेको छ। यी मध्ये झण्डै ४ हजार १ सय ५६ चम्फाई जिल्लमा रहेका छन्।

म्यान्मार सैन्य दमनपछि हजारौँ नागरिक अन्तर्राष्टिय सीमा पार गर्दै भारत पस्ने प्रयास गरिरहेको असम राइफल्सले जनाएको छ। स्रोतका अनुसार कतिपयलाई सुरक्षाकर्मीले फिर्ता समेत पठाएका छन्। तर, थ्रुपै म्यान्मालीले शरण लिन भारत प्रवेश गरेका छन्।

प्रकाशित मिति: : 2021-06-16 14:24:00

प्रतिकृया दिनुहोस्