गण्डकी सरकारको नीति तथा कार्यक्रमः कोभिडले आमाबुवा गुमाएका बालबालिकालाई राहतदेखि कृषि, खेल, पर्यटनसम्म जोड

तीन दिन अघि मात्रै गठन भएको गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम ल्याएको छ। प्रदेश प्रमुख सीताकुमारी पौडेलले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेकी थिइन्।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कोभिडविरुद्ध खोपको व्यवस्थापन गर्नुका साथै महामारीबाट बच्न सावधानीका लागि सचेतना, संक्रमण परीक्षण, संघ र स्थानीय तहबाट गरिने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

यस्तै, कोभिड १९ संक्रमितको उपचारलाई प्रभावकारी बनाउन अत्यावश्यक स्वास्थ्य उपकरण, सामग्री तथा औषधिको व्यवस्था गर्नेदेखि कोभिड १९ को संक्रमणका कारण बाबु वा आमा गुमाएका बालबालिकाहरुलाई नगद राहतको दिने कार्यक्रम ल्याएको छ।

साथै, कोभिड १९ को संक्रमणका कारण जीवन गुमाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका आम नागरिकका परिवारलाई नगद राहत दिने नीति तथा कार्यक्रममा उल्लेख छ।

 कोभिड १९ ले पर्यटन, यातायात, कृषि,  उत्पादन तथा सेवा क्षेत्रमा पारेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्दै उत्पादन तथा रोजगारी अभिवृद्धि गर्न उद्यमी तथा व्यवसायीहरुलाई निर्व्याजी कर्जा उपलब्ध गराउन सञ्चालित व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रमलाई निरन्तरता दिने छ।

कोभिड महामारीको नियन्त्रणका लागि अग्रपंक्तिमा रही उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्य कर्मीहरुलाई “कोरोना फ्रन्टीयर सर्वोत्कृष्ट सेवा पुरस्कार” को व्यवस्था गरेको छ।

नेपाल सरकारसँगको सहकार्यमा संक्रामक तथा सरुवा रोग अस्पताल भवन निर्माण तथा अन्य स्वास्थ्य पूर्वाधार तयार गरी प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताललाई सबैप्रकारका सरुवा रोगको उपचार गर्ने नमूना अस्पतालको रुपमा विकास गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै, अति दुर्गम र दुर्गम क्षेत्रका जटिलतामा रहेका गर्भवती, सुत्केरी र नवजात शिशुको जीवन रक्षाको लागि एयर लिफ्टिङ सेवालाई नीति तथा कार्यक्रमले निरन्तरता दिएको छ।

जटिल अवस्थामा रहेका गर्भवतीको जीवन रक्षाका लागि प्रदेशका सबै अस्पतालमा मातृ प्रतीक्षा स्थापना साथै स्थानीय तहसँगको साझेदारीमा गर्भवती र सुत्केरीको घर घरमा दक्ष स्वास्थ्यकर्मी सेवा बिस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

पूर्णपाठ

प्रकाशित मिति: : 2021-06-14 18:47:00

प्रतिकृया दिनुहोस्