एक दिन साँझ श्री ५ बाट बोलाइबक्स्यो। त्यहाँ प्रधानमन्त्री पनि हुनुहुँदो रहेछ। कुरा चल्दै गयो। राजाबाट हुकम भयो, “मेरो भाई– छोराहरूलाई व्यापार गर्नु छ, सबै यिनलाई दिए जनताका छोराहरूले के गर्ने ? मैंले एक उद्योग गर भनेर दिएकै छ। अब अरू दिनुपर्दैन। कीर्तिनिधि, नवराजलाई बढी ‘प्रेसर’ भयो, तिमीले भन्दिनू।”
श्री ५ महेन्द्रलाई प्रजातन्त्रविरोधी पनि भनिन्छ। यो आरोप लाग्ने कारण २०१७ सालको काण्ड नै हो। पार्टीमाथि प्रतिबन्ध लगाई, जनताद्वारा निर्वाचित सरकारलाई विघटन गर्न झट्ट हेर्दा अप्रजातान्त्रिक लाग्दछ। तर यो काण्ड गराउनमा भारतको पनि हात छ। मेरो दृष्टिमा त्यस बेला राजा महेन्द्र र प्रधानमन्त्री विश्वेश्वरबीच के करा मिलेका थिएनन्– थाहा छैन तर यसको फाइदा भारतले लिन खोज्दा नै २०१७ साल पौष १ गतेको काण्ड हुन गयो।
२०१७ साल मंसीर २८ गते शिकार खेल्ने निहुँमा तत्कालीन भारतका सेनाध्यक्ष जनरल श्री के.एम. थिमैया ठोरीको जङ्गलमा आए। त्यहीँ भारतीय राजदूत श्री भगवान् सहायले श्री ५ महेन्द्र र थिमैयाको भेट गराएका थिए। त्यसपछि पौष १ गतेको काण्ड हुन गयो। यो काण्डपछि पं. जवाहरलाल नेहरूले यो ठीक भएन भन्ने मात्र वक्तव्य दिनुभयो। अरू केही पनि प्रतिक्रिया भारतबाट नआउनु, शङ्का गर्ने ठाउँ छ।
यस काण्डबाट राजालाई खुसी पारी आफ्नो स्वार्थ पूरा गराउने दाउमा भारत थियो तर राजाले त्यसो हुन दिएनन्। यसको फाइदा नेपाली कांग्रेसलाई भयो। यसपछि भारतले त्यहाँ शरण लिएका कार्यकर्ताहरूलाई सहयोग दिन सुरु गर्यो।