रञ्जिता अधिकारी
दाङका कृषकले पछिल्लो समय स्थानीय रैथाने जातको धान रोप्न छाडेर उन्नत जातका धान रोप्न थालेका छन्।
अधिकांश किसानले खेतमा पुरानो रैथाने सानो जिरा, विन्देश्वरी, तिल्की, मनसुली, मार्सी, सिम्ठारो, मनसुली लगायतका धान रोप्ने गर्दथे। पछिल्लो समय यी सबै पुराना जातका धान छाडेर उन्नत जातका धान लगाउन थालेका छन्।
घोराही उपमहानगरपालिका– ९ का किसान धनीराम चौधरीले रैथाने धान रोप्न छाडेको चार वर्ष भएको बताए। पहिले स्थानीय जातको धान लगाउने भए पनि अहिले पुरानो धान कम फल्ने र मेहनत धेरै गर्नुपर्ने भएपछि उन्नत जातको धान लगाउन थालेको सुनाए।
अर्का किसान घोराही– ६का महेश चौधरीले तीन वर्ष अगाडिसम्म रैथाने धान खेती गर्ने गरेको बताए। तिल्की धान पाथी बीउ रोपे पछि मुरी फल्ने गर्दथ्यो। दाङका खेतमा प्रसस्त मात्रामा धान फल्थ्यो, बढी भएको अन्य जिल्लामा पनि बिक्री हुन्थ्यो। अब पुराना धान खेती हुन छोड्यो, सबैले धेरै फल्ने नयाँ हाइब्रिड धान रोजेर लगाउँछन्, उनले भने।
स्थानीय तहले कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ प्रदान गर्ने गरेका छन्। घोराही उपमहानगरपालिकाले ६१.५ क्वीन्टल उन्नत जातको धानको बीउ वितरण गरेको जनाएको छ।
कृषकलाई एक महिनाको समय दिएर माग सङ्कलन गरेर त्यसैअनुसार धानको बीउ खरिद गरेर वितरण गरिसकिएको घोराही उपमहानगरपालिकाका कृषि शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिए।
उपमहानगरपालिकाभित्र नै स्रोत केन्द्र रहेकाले धानको बीउ खरिदमा समस्या नभएको उनको भनाइ छ। घोराहीमा धान खरिदका लागि रु दुई लाख ४० हजार बजेट रहेको कृषि शाखा प्रमुख खनालले जानकारी दिए।
जिल्लाका केही स्थानीय तहका कृषकहरुले अनुदानमा धानको बीउ पाएका छन् भने केही स्थानीय तहका कृषकहरुले धानको बीउ पाउन सकेका छैनन्। अनुदानमा उन्नत धानको बीउ नपाउने स्थानीय तहले धानको बीउको खरिदमा समस्या हुँदा वितरण हुन नसकेको बताएका छन्।
तुलसीपुर उपमहानगरपालिकाका कृषकहरुले यस वर्ष अनुदानमा धानको बीउ पाउन सकेका छैनन्। धान खरिद हुन नसक्दा अनुदानमा धानको बीउ वितरण हुन नसकेको तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका अधिकृत धनराज गौतमले बताए।
धान खरिदका लागि उपमहानगरपालिकाले गएको बैशाखमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो। कसैबाट पनि निवेदन नआएका कारण धान खरिद हुन नसकेको उपमहानगरले जनाएको छ।
उपमहानगरपालिकाले जिल्लामा बीउबिजन समन्वय समितिले निर्धारण गरेको मूल्यमा उन्नत धानको बीउ खरिदको लागि सूचना प्रकाशित गरेको थियो। तर, त्यस मूल्यमा धान दिनको लागि कसैले पनि निवेदन नदिएको गौतम बताउछन्।
जिल्ला बीउबिजन समन्वय समितिले उन्नत धानको बीउको मूल्य रु ७० तोकेको थियो। समन्वय समितिले तोकेको भन्दा बढीमा करिब १ सय रुपैयाँसम्ममा बिक्री गर्न पाएपछि कृषकलाई बिक्री गर्ने गरेको बताइएको छ।
कोभिड–१९ को नियन्त्रणका लागि गरिएको लकडाउने थप समस्या भएको उनको भनाइ छ। आउँदो वर्षदेखि उपमहानगरपालिकामा आफ्नै धानको बीउको स्रोत हुने छ। लामो सययको प्रयासपछि बीउको स्रोत केन्द्र बनाउन थालिएको उनी बताउछन्।
अघिल्लो वर्ष उन्नन जातको धानको बीउ वितरण गरेका कारण यस वर्ष कृषकहरुको त्यति धेरै माग नरहेको उनको भनाइ छ। एक वर्ष रोपेको उन्नत बीउ तीन/चार वर्षसम्म लगाउन सकिने कृषि विज्ञहरु बताउँछन्। उपमहानगरपालिकाले बाहिरबाट आउनेलाई प्रतिस्थापन गर्ने नीति ल्याएको गौतम बताउछन्।
लमही नगरपालिकाले पनि धानको बीउ खरिद गरेर कृषकलाई वितरण नगरपालिकाका कृषि शाखा प्रमुख अमरकुमार चौधरीले बताउनुभयो । नगरपालिकाले एक हजार सात सय ३८ केजी वितरण गरिएको उनको भनाइ छ।
देउखुरी क्षेत्रमा स्रोत केन्द्र भएका कारण खरिद गर्न समस्या नभएको उनी बताउछन्। अनुदानमा धान वितरणका लागि नगरपालिकाले रु एक लाख ५० हजार बजेट छुट्याएको थियो।
जिल्लामा दशवटा पालिका मध्ये केही पालिकाले अनुदानमा बीउ दिएका छन् भने केही पालिकाले यो पटक उपलब्ध गराउन नसकेको जनाएका छन्।
दंगीशरण गाउँपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएको छ। १० वटा कृषक समूह दुइवटा सहकारीलाई धानको बिउ वितरण गरेको कृषि शाखा प्रमुख योगमाया कँुवरले जानकारी दिए।
राम धान पाँचसय किलो, सुख्खा –२ १२सय ५० किलो, सुख्खा –३ तीन सय ५० किलो, र बिन्देश्वरी चार सय किलो धानको बिउ वितरण गरिएको जनाइएको छ।
किसानहरु उन्नत जातको धानतर्फ अकर्षित भएपछि रैथाने धान लोप हुन थालेको किसान बताउँछन्। यहाँका किसानले साबित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगाएतका वर्णशङ्कर जातका धान लगाउँदै आएका छन्।
यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा –२,सुक्खा –३ जातका धान लगाउने गरेका छन्। रैथाने धान राधा सात, मन्सुली, तिल्की जस्ता धानले कम उत्पादन दिने भएकाले उन्नत जातका धान रोप्ने गरेको किसानहरुको भनाइ छ।
जिल्लाको कुल क्षेत्रफल २९ लाख पाँच हजार ५०० हेक्टर जमिन मध्ये खेती योग्य जमिन ६९ हजार नौ सय ५० हेक्टर रहेको छ। दाङमा कुल खेती गरिएको जमिन ६५हजार नौ सय ८० हेक्टरमा खेती गरिएको छ।
यहाँ बाह्रै महिना सिंचाई हुने क्षेत्र १९ हजार छ सय ५१ हेक्टर रहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रुद्रमणि पौडेलले जानकारी दिनुभयो । मौसमी सिँचाइ हुने क्षेत्र तीन लाख नौ हजार दुईसय एघार हेक्टर रहेको छ। रासस