दलहन र तेलहन बालीबाट किसानहरुले लिनसक्ने लाभ

Breaknlinks
Breaknlinks

साधारणतया दलहन बाली– त्यस्ता बालीहरू, जसलाई पिनेर दालको रूपमा खान सकिन्छ। त्यसमा प्रोटिन पनि प्रशस्त मात्रामा पाइन्छ।

दलहनबाली अर्थात कोसेबाली भन्नासाथ चिनिने यो विभिन्न दलहन जातका बालीहरु– जस्तै मुसुरो, चना, रहर, मास, केराउ, गहत, भटमास, मुगं, राज्मा, मस्याङ्ग, खेसरी, बकुल्ला, सिमि, महत्वपूर्ण मानिन्छ। तेलहन बाली भन्नाले जुन बिरुवाको बिउबाट तेल उत्पादन गर्न सकिन्छ त्यस्ता बिरुवालाई जनाउँछ। तोरी, सर्स्यूँ तथा रायो नेपालको मूख्य तेलहन बाली हो।

यस्ता बालीहरूबाट छोटो समयमै लाभ लिन सकिन्छ। उर्वराशक्ति कम भएको माटोलाई उर्वर बनाउन पनि प्रयोग गरिन्छ। यी बालीहरूले प्रशस्त मात्रामा पौष्टिक तत्व भण्डारण गर्ने भएकाले आर्थिक दृष्टिकोणबाट मात्र नभई स्वास्थ्यको दृष्टिकोणबाट पनि उत्तिकै लाभदायी छन्।

दलहन बालीको सेवनले उच्च रक्तचाप तथा मुटुको रोगका बिरामीलाई निकै फाइदा पुर्या उँदछ। यसका विभिन्न परिकारहरु दालमोठ, भुजिया, पापड, दाल आदि बजारमा उपलब्ध छन्।

दाल जातका बालीहरुको जरामा पाइने गोर्खामा एक विशेष प्रकारको जीवाणु रहेको हुन्छ। जसले बिरुवाले प्रयोग गर्न नसक्ने अवस्थामा रहेको वातावरणीय नाइट्रोजन नामक तत्वलाई हावा शोषण गरेर माटोको उर्वराशक्ति बढाउने अथवा सुधार्न मद्दत गर्दछ। फलस्वरुप एकातर्फ रासायनिक मलको प्रयोग कम हुन गई विदेशी मुद्रा वचत हुन्छ भने अर्कोतर्फ माटोको उर्वरा शक्तिमा ह्रास आउँदैन।

त्यस्तै तेलहन बालीको महत्व अझै पनि किसानसम्म पुग्न सकिरहेको छैन। कृषकहरूको यसतर्फ ध्यान पुग्न नसक्दा यसको महत्व ओझेलमा परेको छ। यस्ता बालीहरू छोटो समयमै उत्पादन गर्न सकिने भएकाले यसले खाद्यान्न बालीहरू उत्पादन भई छोटो समयका लागि खाली रहेका जमीनहरूको उपयोग गर्न सकिन्छ।

यसरी किसानहरू छोटो समयमै बढीभन्दा बढी मुनाफा लिन सक्छन्। त्यसै गरी जमीनमा सधैँ एकै प्रकारको बिरुवा लगाइरहनुभन्दा धेरै प्रकारको बिरुवा लगाउनु राम्रो मानिने भएकाले खाद्यान्न बालीपश्चात् यस्ता बाली लगाउँदा बाली विविधिकरण हुन गई उत्पादन बढ्न जान्छ।

तोरी तथा सर्स्यु बाली तराई तथा पहाड दुवै हावापानीमा लगाउने बालीहरु हुन्। कम तापक्रम, सफा सुखा मौसम, प्रशस्त घाम र उपयुक्त चिस्यान भएको अवस्थामा तेल उत्पादन राम्रो हुन्छ। यी बालीहरु यस्तो हावापानी भएको क्षेत्रमा लगाउनुपर्दछ। माटोको पिएच न्युट्रल हुनुपर्दछ र हल्का क्षारीय माटो पनि सहनसक्छ।

किसानहरुको सोचाइमा दिनहुँ खाने परिकारमा खाद्यान्न बालीहरूको उपयोग बढिहुने भएकाले खाद्यान्न बालीहरूकै उत्पादनमा बढी जोड दिएको पाइन्छ। अन्य कारणहरूमा उत्पादन क्षमतामा कमी, ज्ञानको अभाव, न्यून आर्थिक अवस्थालाई लिन सकिन्छ।

खाद्य तथा कृषि संगठन (FAO,2106) को अनुसार संसारमा दालजातको खाद्य पदार्थबाट मात्रै शरीरको पोषण आहारको आवश्यक मापदण्ड पूरा हुने र पोषणको शक्ति आधार मानेर आहारमा समेटिनाले हाम्रो खाद्य र पोषण असुरक्षाको समस्या समाधान हुने एकमात्र उपाय भनेर उल्लेख गरिएको छ।

सरकारी निकायले पनि अनुसन्धान गरी बढी उत्पादकत्व शक्ति भएका विभिन्न जातका बिरुवाहरू सम्बन्धित किसानसम्म पुर्यानउने र यसको बजार मूल्य पनि खाद्यान्न बालीभन्दा बढि भएकाले किसानलाई यसतर्फ आकर्षित गर्न सकिन्छ।

त्यसैले सरकारले किसानलाई यसतर्फ आकर्षित गर्नलाई विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै प्रोत्साहन गरेमा दलहन तथा तेलहन बालीहरूको उत्पादन बढ्न गई देश आत्मनिर्भर बन्न सक्दछ।

अतः सरकार तथा सरकारी निकायको बेलैमा ध्यान पुग्नुपर्ने देखिन्छ भने किसानहरूपनि नयाँनयाँ ज्ञानहरू हासिल गर्दै अगाडि बढ्ने हो भने कृषि क्षेत्रको विकास समयमै हुने देखिन्छ।

(दवाडी कृषि विद्यार्थी हुन्।)

प्रकाशित मिति: : 2021-06-10 10:11:00

प्रतिकृया दिनुहोस्