ममता बनर्जीलाई चुनावमा हराउने भाजपा नेतामाथि चोरीको आरोप

Image Source : FILE PHOTO

पश्चिम बंगालको हालैको विधानसभा चुनावमा मुख्यमन्त्री ममता बनर्जीलाई पराजित गर्ने भारतीय जनता पार्टी (भाजपा) नेता शुभेन्दु अधिकारी र उनका भाई सोमेन्दु अधिकारीविरूद्ध चोरीको आरोप लागेको छ। 

उनीहरूमाथि नगरपालिकाबाट राहत सामग्री चोरी गरेको आरोपमा प्रहरीमा उजुरी परेको हो। 

कान्ठी नगरपालिका प्रशासनिक बोर्ड सदस्य रत्नदीप मन्नाले कान्ठी पुलिसथानामा १ जुनमा शुभेन्दु र उनको भाईविरूद्ध उजुरी दर्ता गराएका हुन्। शुभेन्दु कान्ठी नगरपालिकाका पूर्व मेयर भइसकेका छन्। 

उजुरीमा भनिएको छ, २९ मे दिउँसो साढे १२ बजे शुभेन्दु र उनको भाईको आदेशमा नगरपालि कार्यालयको गोदाममा लागेको ताल्चा जबरदस्ती फोडिएको थियो। गोदाममा सरकारी त्रिपाल थियो। करिब १ लाख बराबरको त्रिपाल उनीहरूले चोरेर लगेका थिए। यो चोरीमा उनीहरूले केन्द्रको आर्मफोर्सको प्रयोग पनि गरेका थिए। 

पश्चिम बंगालमा यतिबेला भाजपा र ममता बनर्जीबीचको विवाद उन्मादमा छ। भर्खरै भएको चुनावमा भाजपाले ममता बनर्जीको सत्ता उल्टाउन थुप्रै प्रयास गरेको थियो। तर, असफल भयो। शुभेन्दु पहिले ममताका भित्रिया थिए। उनलाई भाजपाले आफ्नो उम्मेदवारको रुपमा ममताविरूद्ध नै चुनावमा उठाएपछि यी दुईबीचको सम्बन्ध अहिले राम्रो छैन।

शुभेन्दुले नन्दीग्राम सिटबाट ममतालाई १९ सय ५६ मतले पराजित गरेका थिए। पश्चिम बंगालमा भाजपा पहिलो पल्ट विपक्षी पार्टी बनेको छ। यो चुनावमा २ सय ९२ सिटमध्ये तृणमुलले २ सय १३ मा जित हात पारेको थियो भने भाजपाले ७७ सिट प्राप्त गरेको थियो। कांग्रेस र कम्युनिस्ट पार्टीले भने खाता पनि खोल्न सकेनन्। 

ममता बनर्जी पुनः सत्तामा फर्किएपछि शुभेन्दुका सहयोगीलाई केही दिनअघि कोलकाता प्रहरीले ठगीको मुद्धामा पक्राउ गरेको छ।

प्रकाशित मिति: : 2021-06-06 10:41:00

प्रतिकृया दिनुहोस्