मलेसियामा दुर्घटनामा परेका ६ नेपाली श्रमिक अस्पतालबाट डिस्चार्ज, २ को अवस्था अझै गम्भीर 

बिएल संवाददाता

क्वालालम्पुर

मलेसियामा गत बुधबार ‘सेक्युरिटी भ्यान’ दुर्घटनामा तनहुँका झपटबहादुर थापाले ज्यान गुमाएको मलेसियास्थित नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिएका छन्।

यस्तै दुर्घटनामा घाइते भएका ८ नेपालीमध्ये ६ जना उपचारपछि होस्टेल फर्किसकेको र २ जना अझै अस्पतालमा रहेको उनले बिएल नेपाली सेवालाई जानकारी दिए।

अस्पतालमा रहेका २ मध्ये पनि एक जनाको अपरेशन गर्नुपर्ने चिकित्सकले दुतावासलाई जानकारी दिएको उनको भनाई छ।

मलेसियामा मंगलबार राती काम गरेर बिहान होस्टेल फर्किने क्रममा बाटोमा भ्यान दुर्घटनाग्रस्त हुँदा एक मलेसियन चालकसहित नेपाली कामदार झपटबहादुरको निधन भएको थियो।

सो भ्यानमा ९ जना नेपाली थिए। बुधबार बिहान ७ बजेर ४५ मिनेटमा जोहरबारुको जलान तुलाङ डार्ट–इस्टर्न डिस्पर्सल लिङ एक्सप्रेसवे (इडीएल) मा गाडी बिजुलीको खम्बामा ठोकिन पुगेको थियो। नेपाली कामदार मलेसियाको ‘कि फोर्स सेक्युरिटी’ मा सुरक्षागार्डको रुपमा कार्यरत थिए।

निधन भएका झपटबहादुरको उमेर ३७ वर्ष थियो। घाइते नेपालीहरुलाई स्थानीय सुल्तानाह अमनाह अस्पतालमा पुर्याइएको थियो। घाइते हुनेमा जीतबहादुर थापा, रामकुमार सापकोटा, चन्द्र श्रेष्ठ, खड्ग सुनार, विनोद बास्कोटा, दुर्गा रायमाझी, निम्बाङ् तामाङ र जयबहादुर बुढाथोकी थिए।

प्रकाशित मिति: : 2021-06-04 13:12:00

प्रतिकृया दिनुहोस्