मन्त्रीले एमाले कार्यकर्ता र ब्यापारीलाई खोप दिएपछि सर्वसाधारणको विरोध र नाराबाजी

सामाजिक विकास मन्त्री उषाकला राईले पार्टी समर्थक र केही उद्योगपतिलाई लुकाएर कोभिसिल्डको दोस्रो डोज दिएको पाईएपछि स्थानीय आक्रोशित बनेका छन्।

शुक्रबार विराटनगर–२ तिनपैनीस्थित सिटी सिनेमा हल परिसरमा पहुँच पुगेकाहरुलाई कोरोना विरुद्धको दोश्रो डोज दिईएको पाईएपछि स्थानीय आक्रोशित बनेका हुन्। 

मन्त्री राई निकट कार्यकर्ता र केही उद्योगी व्यवसायी र कर्मचारीलाई खोप दिएको थाहा पाएपछि स्थानीयको अवरोधले  कार्यक्रम नै बिथोलिएको थियो।

शुक्रबार दिउँसो सिनेमा हल परिसरमा वडाक्षेत्र बाहिरका व्यक्तिहरुको चहलपहल बढ्न थालेपछि स्थानीयले सो बिषयको सुईको पाएका थिए। बिना कुनै पुर्व जानकारी अग्रपङतिमा नखटिएकाहरुले पनि खोप लगाएको पाईएपछि स्थानीयले विरोध गरेका हुन।

‘प्रदेश सरकारले गोप्य रुपमा पहुँच भएकालाई मात्र खोप दिएपछि हामी आक्रोशित भएका हौं’, अखिल क्रान्तिकारीका विद्यार्थी नेता ताजिम अन्सारीले भने, ‘सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाईकर्मी सहितका फ्रन्टलाईनरलाई खोप लगाएको भए हामी स्वागत गर्‍थ्यौ। तर मन्त्री उषाकला राईले पार्टी समर्थक र केही उद्योगपतिलाई लुकाएर कोभिसिल्डको दोस्रो डोज दिन  दिएको पाईएपछि बिरोध गरेका हौ।

करिब ३ सय जनालाई सोप लगाउने कार्यक्रम रहेकोमा २ सय बढीलाई खोप लगाएपछि स्थानीयले थाहा पाएका थिए।

भीड र होहल्ला बढदै गएपछि भने नजिकै रहेको प्रहरीको टोलीले अवस्था नियन्त्रणमा लिएको थियो। खोपका लागि आएको बा १ झ ९३६५ नम्बरको सरकारी गाडी र कर्मचारीलाई प्रहरीकै स्कर्टिङमा फिर्ता पठाईएको थियो।

स्वास्थ्य सम्बन्धि जिम्मेवार कर्मचारीहरुले आफुहरुलाई खोपको बिषयमा कुनै जानकारी नरहेको स्पष्ट पारेका छन्। वडा नं। २ का वडाध्यक्ष कुमार पोखरेलले पनि आफुलाई खोप लगाउने बिषयमा कुनै जानकारी नआएको बताएका छन्। तर खोप लगाउन आएका स्वास्थ्यकर्र्मीहरुले भने सो बिषयमा कुनै प्रतिक्रया दिन मानेका छैनन्।

स्थानीयका अनुसार उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको अगुवाईमा ३ सय जना निश्चित व्यक्तिहरुलाई कोरोना विरुद्धको खोप लगाउने प्रबन्ध मिलाईएको थियो। तर उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले भने आफु त्यस बिषयमा जानकार नरहेको बताएका छन्। स्थानीयले उक्त बिषयको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। खोप लगाउने बिषयबारे विराटनगर महानगरपालिका समेत अनविज्ञ रहेको महानगर प्रमुख भीम पराजुलीले बताए।
 

प्रकाशित मिति: : 2021-05-28 19:07:00

प्रतिकृया दिनुहोस्