सुनसरीमा एक साता लम्ब्याइयो निषेधाज्ञा

फाइल तस्वीर
फाइल तस्वीर

सुनसरीमा जारी निषेधाज्ञा एक साता लम्ब्याइएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार जिल्लाको हकमा जेठ २२ गते मध्यरात सम्म निषेधाज्ञा कायम गरिएको छ।

यसअघि जारीे निषेधाज्ञाको अवधि जेठ १५ गते मध्यरातमा सकिदैछ। डीसीसीएमसीको बैठकले सोही मितिबाट निरन्तरता दिने गरी एक साताको अवधि थप गर्ने निर्णय गरेको प्रजिअ ढकालले जानकारी दिए।

प्रजिअ ढकालका अनुसार थपिएको निषेधाज्ञाको अवधिमा यस अघिका निर्णय स्वतः लागु रहने छन्। त्यसका अलावा सरकारद्वारा जारी कोभिड १९ संकट व्यवस्थापन अध्यादेशको प्रावधान अनुरुपको व्यवस्था थप हुने ढकालले बताए।    

अध्यादेशले निषेधाज्ञा कार्यान्वयनमा बाधा पुर्याए एक वर्ष र उल्लंघन गरे मात्र पनि ६ महिना कैद हुने व्यवस्था गरेको छ।

आदेश नमान्ने व्यक्तिको हकमा प्रजिअले सिधै एक लाख र संस्थालाई पाँच लाख जरिवाना गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गरेको छ। प्रजिअ ढकालले सोही अनुरुप हुने बताएको छ।  

त्यसका साथै सुरक्षाकर्मीले मास्क नलगाउने, अटेर गरी हिंड्नेको हकमा पटकै पिच्छे जरिवाना लगाउन सक्ने प्रावधान समेत अध्यादेशमा उल्लेख छ।

जसअनुसार अब मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे एक सय जरिवाना हुनेछ। आवागमनमा रोक लगाइएको अवस्थामा अटेर गरे पटकै पिच्छे दुई सय जरिवाना तोकिएको छ।

त्यसैगरी रोक लगाइएको अवस्थामा अत्यावश्यक (अनुमती वा जानकारी) वाहेक सवारीसाधन चलाएको पाइए दुई पांग्रेको हकमा दुई हजार र अन्यको हकमा पाँच हजार जरिवाना हुनेछ। सुनसरी प्रशासनले थपिएको अवधिमा सोही अनुरुपको कडाइ गर्न निर्देशन दिइएको समेत जनाएको छ।

प्रकाशित मिति: : 2021-05-28 18:38:00

प्रतिकृया दिनुहोस्