रहेनन् नेपाली साहित्य परिषद् मणिपुरका संस्थापक अध्यक्ष उप्रेती

नारायण प्रसाद उप्रेतीको निधनले साहित्य जगत शोकाकुल

Breaknlinks
Breaknlinks

नेपाली साहित्य परिषद् मणिपुरका संस्थापक अध्यक्ष नारायण प्रसाद उप्रेतीकाे आइतवार निधन भएकाे छ। अग्रज साहित्यकार उप्रेतीको निधनले नेपाली साहित्य जगत शोकमग्न भएको छ।

सन् १९४६ मार्च २२ मा भारतकाे मणिपुर राज्य काङ्लातोम्बी गाउँमा जन्मिएका उप्रेती स्व. राम नारायण उप्रेतीको माइँला छोरा हुन्। सुरूवाती शिक्षा काङ्लातोम्बीको सरकारी स्कुलमा गरेका उनले डी.एम. कलेज इम्फालबाट अङ्ग्रेजीमा अनर्स पश्चात् मणिुपर विश्वविद्यालयबाट एल.एल.बी. सम्पन्न गरे। 

शिक्षकको क्षेत्रमा सङ्लग्न रहेका उनले  मणिपुर गोर्खाली विद्यार्थीको अधिकार एवं विकासका लागि वि.स. २०२४ सालमा संस्थापक सचिवको पदमा आसीन हुँदै कर्मठ कार्यकर्ताको रूपमा उदय भएका थिए। विद्यार्थीको शिक्षा एवं उत्थानमा मात्र ध्यान नराखि साहित्यकार उप्रेती मातृभाषा एवं असल संस्कृतिप्रेमी समेत मानिन्छन्।

भाषाप्रेमी, कर्मठ कार्यकर्ता, मिलनसार व्यवहार एवं मृदुभाषी भएकाे हुँदा नेपाली साहित्यको विकासका लागि विचार–विमर्श सभा–समाराेहमा सम्मिलित हुँदै गए। परिणाम स्वरूप नेपाली साहित्यको विकासका निम्ति सन् १९८३ जुन २ मा नेपाली साहित्य परिषद मणिपुरको स्थापना गरियाे। प्रखर प्रतिभा भएकै कारण उनी नवनीत संस्थामा संस्थापक अध्यक्षको रूपमा मनोनित भएकाे मणिपुर वरिष्ठ नेपाली साहित्यकारहरू बताउँछन्।

मणिुपर राज्य नेपाली काव्य साहित्यको सिर्जना भएकाे भूमि हो। सन् १८९३ मा तुलाचन आलेले ‘मणिुपरको लडाईको सवाई’ लेखेर एवं गाएर मणिुरमा साहित्यको सूत्रपात गरे। त्यस उपरान्त आशा रानी जस्ता साहित्यिक आत्मा मणिपुरले पायो। त्यही विरासतलाई अघि सार्न साहित्यकार उप्रेतीले हर प्रयासमार्फत् नेपाली भाषालाई उर्जा दिने काम गरे।

उप्रेतीकाे नेपाली साहित्य एवं शिक्षाको सेवा मणिपुरमा मात्रै सिमित छैन। उनकाे प्रतिभाले नेपालको शिक्षा जगत पनि लाभाविन्त भएकाे छ। मणिपुर पश्चात् उनले पोखराकाे एक निजी विद्यालयमा प्र.अ.काे रूपमा निकै वर्ष काम गरे।

उप्रेतीकाे उत्कृष्ट सेवाबाट प्रभावित भएर नेपाल सरकार शिक्षा विभागले उनलाई काठमाण्डौंसम्म शिक्षाको कार्यमा सङ्लग्न हुने प्रस्वात गर्याे। प्रस्ताव स्वीकार गरी काठमाण्डौं समेत पुगेका थिए, उप्रेती। विभागले उनलाई अग्रिम शिक्षणका लागि जापान पठायो तर दुर्भाग्यवस् स्वास्थ्य समस्याका कारण उनी थला परे। केही वर्षदेखि घरमै उपचाररत साहित्यकार उप्रेतीकाे निधनले नेपाली साहित्य जगत शोकाकुल भएकाे छ।

विश्व महामारी कोरोनाको सङ्क्रमणले साहित्यकार उप्रेतीकाे निधन भएकाे हाे। देह संसारलाई त्यागेर गएतापनि उनले शिक्षा एवं साहित्यमा जलाएको ज्योति सधैँ विद्यमान रहने छ।

भगवानसँग प्रार्थना छ– परिवरालाई यो कष्ट सहनका लागि शक्ति प्रदान गरून्। अग्रज साहित्यकार उप्रेतीको आत्माले चिरशान्ति पाओस्।

प्रकाशित मिति: : 2021-05-24 17:37:00

प्रतिकृया दिनुहोस्