अरबमा कार्यरत नेपालीले सुरु गरे 'मातृभूमि सहयोग अभियान'

Breaknlinks
Breaknlinks

कोभिडविरुद्धको लडाइँमा नेपाल सरकारलाई सघाउन संयुक्त अरब ईमिरेट्स (युएई) मा कार्यरत नेपालीहरुले 'मातृभूमी सहयोग अभियान' शुरु गरेका छन्।

पछिल्लो समय द्रुत रूपमा फैलिरहेको कोभिड-१९ को संक्रमण र यसबाट उत्पन्न जटिल परिस्थितिमा भ्याक्सिन, अक्सिजन तथा अन्य अत्यावश्यक स्वास्थ सामाग्रीहरु सहयोग गर्न अभियान शुरु गरिएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएकाे छ।

अभियान संचालनका लागि गत सोमबार नेपाली दूतावासले युएईमा क्रियाशिल नेपाली संघ-संस्थाहरुसंग छलफल गरेको थियो। छलफलपछि युएईमा क्रियाशिल नेपाली संघ-संस्थाका प्रतिनिधिहरु र विभिन्न दल निकट प्रवाश संगठनका प्रतिनिधिहरु सम्मिलित कोभिड-१९ संयुक्त राहत संकलन समिति गठन गरिएको छ।

उक्त समितिले नेपाली दूतावाससंगको समन्वयमा युएईमा रहेका नेपालीहरुबाट स्वेच्छिक रूपमा आर्थिक सहयोग संकलन गर्ने नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले बिएल नेपाली सेवालाई जानकारी दिए।

समिति गठनसँगै युएईमा क्रियाशिल नेपाली संघसंस्थाका प्रतिनिधिहरुले सामाजिक सञ्जालबाट तथा प्रत्यक्षरुपमा नेपाली श्रमिकहरुलाई भेटेर आर्थिक संकलनका लागि आह्वान गरेका छन्।

युएईमा लामो समयदेखि सामाजिक गतिविधि गर्दै आएका नेपाल एसोसिएसनका स्वयंसेवक भिम मल्ल ठकुरीले सामाजिक संजालबाटै युएईमा रहेका नेपालीहरुलाई यो महाअभियानमा जोडिन आग्रह गरेका छन्।

यस्तै युएईमा सक्रिय फेसबुक ग्रुप 'नेप्लिज लिभिङ्ग ईन युएई' मार्फत कोभिड-१९ सहयोग अभियान संचालन गरेकी मोनिका नगरकोटीले समेत ग्रूपमार्फत् अहिलेसम्म नेपाली करिब नेपाली दुई लाख रुपैयाँ संकलन भएको बताईन्। उनले ग्रूपमार्फत् अझै आर्थिक संकलन भईरहेको पनि जानकारी दिईन्।

प्रकाशित मिति: : 2021-05-22 09:37:00

प्रतिकृया दिनुहोस्