महाराष्ट्रमा प्रहरीसँगकाे भिडन्तमा १३ माओवादी विद्रोहीको मृत्यु

Photo : Indianexpress
Photo : Indianexpress

महाराष्ट्रको गडचिरोली जिल्लामा शुक्रबार प्रहरीको सी–६० कमाण्डोसँगको भिडन्तमा १३ भारतीय माओवादी (नक्सलवादी) विद्रोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

झडप इतापाल्लीको कोटमीको जङ्गलमा भएको प्रहरीले बताएको छ। भारतीय नक्सलवादी समूहका नेताहरू भेला हुने सूचनाका आधारमा प्रहरीले गरेको कारबाहीमा उनीहरूको मृत्यु भएको गडचिरोलीका उप–महानिरीक्षक संदीप पाटिलले बताए।

करिब एक घण्टा चलेको उक्त झडपमा बाँकी नक्सलवादी लडाकूहरू घना जङ्गलतर्फ भागेका गडचिरोलीका प्रहरी उपरीक्षक अंकित गोयलले बताए।

प्रहरीले घटनास्थलबाट विद्रोहीको शव बरामद गरेको छ र इलाकामा खोजी अभियान अझै जारी रहेको उनले बताए। यस झडपबारे विद्रोहीको तर्फबाट भने कुनै प्रतिक्रिया आइसकेको छैन।

भारतमा नक्सलवादी विद्रोहीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् भने महाराष्ट्रलगायत भारतका कतिपय राज्यमा उनीहरूको प्रभाब रहेको छ।

प्रकाशित मिति: : 2021-05-22 07:21:00

प्रतिकृया दिनुहोस्