पुथाउत्तरगंगामा स्याउ उत्पादन बढ्ने

बिएल संवाददाता

रुकुमपूर्व

रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपलिकामा यस वर्ष गत वर्षको तुलनामा स्याउ उत्पादन बढ्ने भएको छ। गाउँपालिकाले दुई हप्तामा गरेको अध्ययनमा उत्पादन बढ्ने प्रतिवेदन तयार पारेको छ। 

कृषि शाखाका प्राविधिक सहित वडाका कृषि स्वयम्सेवक र सम्बन्धित वडाका जनप्रतिनीधिको टोलीले गरेको अनुगमनपछि तयार प्रतिवेदनमा ३० देखि ५० प्रतिशतले स्याउ उत्पादन वृद्धि हुने उल्लेख गरिएको गाउँपालिकाका कृषि प्राविधिक सहायक सन्तोष ओलीले जानकारी दिए।

गत वर्ष ४० देखि ५० टन स्याउ उत्पादन भएको पुथाउत्तरगंगामा हावाहुरी र असिना पानीले क्षति गरेन भने यस वर्ष ८० देखि सय टनसम्म उत्पान हुने अनुमान छ। 

गाउँपलिकाको २, ५, ६, १० र ११ नम्बर वडामा प्रशस्त स्याउ पाइन्छ। वडा नम्बर ६ लाई स्याउको पकेट क्षेत्र घोषणा गरिएको छ भने २ नम्बर वडामा प्रदेश सरकारले स्याउ ब्लकको रुपमा विकास गरी काम गरिरहेको ओलीले बताए। 

अन्य वडामा पनि स्याउ पाइन्छ। स्याउ प्रशस्त मात्रामा पाइने गरेका भएपनि बजारीकरणको भने समस्या छ। सडक सुविधा नपुगेको त्यस ठाउँका मानीसले घोडा, खच्चडमार्फत स्याउ ढुवानी गर्दै आएका छन् भने कतीपयको स्याउ बारीमै कुहिने गरेको छ।

गाउँपालिकाले ढुवानीमा अनुदान भनेर यस वर्ष चार लाख रुपैयाँ छुट्याएको छ। यस वर्ष लगाएका बिरुवाको अनुगमन गरिएको छ। लगाएका बिरुवामा २० दे्खि २५ प्रतिशत खडेरीको कारण मरेका छन्। 

बिरुवा ढिला आएको र कृषकले पनि लगाउन ढिला गरेकोले बिरुवा मरेको बताइएको छ। तत्काललाई बिरुवामा कुनै रोग देखिएको छैन्। स्याउको दाना पनि राम्रो लागेको प्रतिवेदनमा जनाइएको छ। रासस

प्रकाशित मिति: : 2021-05-20 14:34:00

प्रतिकृया दिनुहोस्