तनाव कम गर्नाका लागि दैनिक फलफूल र तरकारीको सेवन गर्नुपर्ने अध्ययनले देखाएको छ।
अस्ट्रेलियामा आठ हजार छ सयभन्दा बढी मानिसमा गरिएको एक अध्ययनले तनाव कम गर्न दैनिक चार सय ७० ग्राम फलफूल र तरकारीको सेवन गर्नुपर्ने पत्ता लगाएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि स्वस्थ रहन दैनिक चार सय ग्राम फलफूल र तरकारी खाने सल्लाह दिएको छ।
एडिथ कोवेन युनिभर्सिटीले गरेको अनुसन्धानअनुसार दैनिक चार सय ७० ग्राम फलफूल र तरकारी खाए १० प्रतिशत तनाव कम भएको छ।
जर्नल क्लिनिकल न्यूट्रिसनमा सार्वजनिक अनुसन्धानका लागि २४ वर्षदेखि ९४ वर्ष उमेरका मानिसलाई समावेश गरिएको थियो। केही समयसम्म रहिरहने तनावलाई सामान्य मानिन्छ। तर, तनाव लामो समयसम्म रहेमा यसले सीधा दिमागलाई असर गर्छ।
तनाव लामो समयसम्म रहेमा हृदय रोग, मधुमेह, डिप्रेसन र एन्जाइटीको समस्या हुनसक्छ। अध्ययनकर्ता साइमन राडेवेलीले फलफूल र तरकारीको सेवन दिमागको स्वास्थ्यसँग सीधा सम्बन्धित रहेको बताएका छन्।
उनका अनुसार फल र तरकारीमा भिटामिन, मिनिरल, फ्लाभोनोइड र क्यारोटिनोइड हुन्छ जसले शरीरको इन्फ्लामेसन (सुजन) र तनावलाई कम गर्न मद्दत गर्छ। जसकारण दिमागमा आराम महसुस हुन्छ।