वागमतीमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु

वागमती प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ। 

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरिसकेका छन्। अन्य मतदाता पनि मतदानस्थलमा पुग्ने क्रम जारी छ।

नेकपा एमालेका तर्फबाट उम्मेद्वार बनेका गृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेद्वार बनेका खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट उम्मेद्वार बनेका कृष्णगोपाल तामाङ मतदानस्थलमै छन्।

अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुले पार्टीको विवाद नमिलेको र खिमलाल देवकोटाले माधव नेपालकै प्रस्तावमा कांग्रेस र माओवादीले समर्थन गरेकाले आफूहरुको उम्मेदवार देवकोटानै रहेको बताइरहेका छन्।

उपनिर्वाचनमा वागमती प्रदेशसभा सदस्य एक सय १० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख दुई सय ३८ गरी तीन सय ४८ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

यसअघि मतदाताका लागि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य देखाउनु पर्ने भनिए पनि अहिले व्यवस्था हटाइएको निर्वाचन आयोगले जनाएको छ।

उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायतका कागजात देखाएर मतदान गर्न सकिने छ।

प्रकाशित मिति: : 2021-05-20 10:04:00

प्रतिकृया दिनुहोस्