मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले गत शनिबार दलबलसहित पुगेर स्थानीय ग्यारेजबाट अक्सिजन सिलिण्डरहरु नियन्त्रणमा लिए। कोरोना संक्रमण बढिरहेको र अक्सिजनको हाहाकार भइरहेको बेला नगरपालिकाले सिलिण्डर सङ्कलन गरेको खबर सुनेर धेरैले प्रसंशा पनि व्यक्त गरे।
प्रसंशा गर्नेहरुको भावना स्वच्छ थियो। अक्सिजन अभावले ज्यान गुमाइरहेका कोरोना भाइरस सङ्क्रमितको ज्यान जोगाउन यसले सहयोग गर्नेछ तर मेयर फागोको सोचविचार नपुगेको कुरा ती निर्दोष सर्वसाधारणलाई के थाहा ? यिनै सिलिण्डर मृत्युको कारण बन्न पनि सक्छन् भन्ने।
देशभरि अक्सिजन सिलिण्डरको हाहाकार भएपछि यतिबेला प्रयोगमा नरहेका सिलिण्डरहरूलाई सङ्कलन गर्ने काम भइरहेको छ। स्थानीय तहका जनप्रतिनिधि र प्रहरीसमेत यस कार्यमा लागेका छन्। तर, सिलिण्डर उठाउने नाममा जुन पायो त्यही सिलिण्डर उठाउने हो भने झन् ठूलो दुर्घटना निम्तने सक्ने खतरातर्फ भने यी जनप्रतिनिधिको ध्यान गएको छैन।
विज्ञहरुले औँल्याएका छन्– यसरी जम्मा पारिएका सबै अक्सिजन सिलिण्डर जोखिममुक्त छैनन्, यसको पनि मापदण्ड हुन्छ। हचुवाको भरमा सिलिण्डर उठाउने र त्यसैमा अक्सिजन भरेर बिरामीलाई दिने हो भने यसले मानिसको ज्यान पनि जान सक्ने उनीहरुले चेतावनी दिएका हुन्।
नेपाल अक्सिजन ग्याँस उत्पादक संघका अध्यक्ष गौरव शारडाले बिएल नेपाली सेवासँग भने, 'अक्सिजन भर्न उद्योगमा पुग्नेहरूले आफ्नो हातमा रहेको सिलिण्डर अक्सिजन ग्यास 'रि–फिल' गर्नयोग्य सिलिण्डर हो या होइन भनेर थाहा पाउन पनि अत्यन्त जरुरी छ।'
सरकारले अघिल्लो हप्ता विभिन्न उद्योगहरूबाट रित्ता अक्सिजन सिलिण्डर जफत गर्नुका साथै वर्षौँदेखि कवाडी स्थलमा थन्किएका सिलिण्डरसमेत संकलन गरिरहेको छ। कतिपय नागरिकले जहाँ खाली सिलिण्डर पाइन्छ, त्यहीँबाट उठाउने पनि गरेका छन्। यसरी उठाइएका सबै सिलिण्डरमा अक्सिजन भर्न नमिल्ने शारडाको भनाइ छ।
नेपालमा अक्सिजन ग्यास उत्पादन गर्ने कम्पनी मात्रै नभएर अन्य धेरै ग्यास उत्पादक कम्पनी पनि रहेको उनले जानकारी दिए। ‘सबै कम्पनीका आ—आफ्नै स्टान्डर्ड मार्किङ छ,’ उनले भने, ‘कुन सिलिण्डरमा अक्सिजन, नाइट्रोजन, आर्गन राख्ने कम्पनीहरुको मार्किङ हुन्छ।’
अक्सिजनको अभाव भएपछि सरकारी तथा व्यक्तिगत तवरबाट भेटिएजति खाली सिलिण्डर धमाधम उठाउने काम भइरहेकाले बिरामीका लागि खतरा सावित हुने चेतावनी दिए। ‘रुवाबासी गर्दै पहिला अन्य ग्यास भरेको सिलिण्डर लिएर अक्सिजन भर्न बिरामीका आफन्त कम्पनीमा आइपुगेको उदाहरण छन्,’ अध्यक्ष शारडाले भने।
अन्य ग्यास भरेका सिलिण्डर लिएर लाईन बस्नेलाई चिनेर फर्काइदिएको उनले सुनाए। ‘तर कम्पनीका काम गर्नेमध्ये धेरैलाई कोभिड भएकाले कामको बढी चाप छ, जुन सिलिण्डर ल्याए पनि त्यसमा भरेर हतारमा पठाउने काम भइरहेको हुनसक्छ,’ उनले थपे, 'अहिले कुन कम्पनीको सिलिण्डर हो भनेर समेत हेरेका छैनन्। कम्पनीले पहिला अन्य विषाक्त ग्यास भरेको सिलिण्डरमा अक्सिजन ग्यास भरेर पठाए के हुन्छ ? त्यसैले सिलिण्डरबारे थाहा पाउनैपर्छ, नत्र ज्यान नै जान सक्छ।’
सरकारले सिलिण्डरका बारेमा प्रष्ट जानकारी सर्वसाधारण जनतालाई दिन अति आवश्यक भएको शारडाले बताए। उनले फेला पारेका जुनसुकै सिलिण्डर ल्याउँदा बिरामी बचाउन भन्दै अक्सिजन भर्दा विषाक्त ग्यासका सिलिण्डर परेमा अञ्जानमा ज्यान जानसक्ने भन्दै चिन्ता पनि व्यक्त गरे।
वेवारिशे अवस्थामा घरमै थन्किएको वा खिया लागेको अवस्थामा भेटिएका सिलिण्डरमा पहिले कार्वनडाइअक्साइड, नाइट्रोजन, आर्गन वा अक्सिजन भरिएको थियो भनेर आम सर्वसाधारणलाई थाहा नहुन सक्छ। स्वास्थ्य मन्त्रालय र उद्योग मन्त्रालयले कुन सिलिण्डरमा कुन ग्यास भरिन्छ भन्नेबारे जानकारी सर्वसाधारण जनतालाई दिनुपर्ने उनको भनाइ छ।
मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीका मेडिकल सुपरिडेन्ट डा. दिव्य खनालले जथाभावी सङ्कलन गरिएका सिलिण्डरहरुमा जाँच गरेर मात्र अक्सिजन भर्नुपर्ने बताए। ‘सङ्कलन गरिएका सिलिण्डरमध्ये अञ्जानमा कुनैमा विषाक्त ग्यास राखेको परेको भए त्यसले ज्यानै लिने जोखिम रहेकोले सरोकारवाला सचेत हुनुपर्ने उनले औँल्याए। खनालले विषादीयुक्त ग्यास भरिएका सिलिण्डरमा अञ्जानमा अक्सिजन भरिए स्वास्थ्यमा गम्भीर असर पुर्याएउनुका साथै बिरामीको ज्यानै पनि जानसक्ने बताउँछन्।
औद्योगिक क्षेत्रमा कावर्डअक्सिाइड, नाइटोजन आर्गन, सल्फर जस्ता ग्यासको प्रयोग गरिन्छ। यी ग्यासका सिलिण्डरहरू एउटै प्रकारका देखिन्छन्। अक्सिजन भरिदिने कम्पनी र अक्सिजन लैजाने व्यक्ति र संस्थाले समेत महामारीको आपतकालीन समयमा सबैले सिलिण्डरको बारेमा थाहा पाउन जरुरी रहेको चिकित्सकहरुको भनाइ छ।