मकवानपुरको मकवानपुरगढी गाउँपालिका४ की सरिता नेगी गत वर्ष कृषिमा स्थानीय सरकारले दिने अनुदानबारे बुझ्न गाउँपालिकाको कृषि शाखामा पुगिन्।
सामूहिक खेती गर्नेलाई प्रोत्साहन गर्ने गाउँपालिकाको नीति रहेको र सामूहिक खेती गरे गाउँपालिकाले बीउ अनुदान दिने कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताएपछि सरिताको मन पनि सामूहिक खेतीतर्फ तानियो। त्यसअघि सरितासहित गाउँका २६ जना महिलाले बन्दडाँडा कृषक समूह गठन गरिसकेका थिए।
कृषक समूहअन्तर्गत १० महिला मिलेर सामूहिक रुपमा बेसार खेती गर्ने तयारी गरे। गाउँपालिकाको कृषि शाखाले महिला कृषक समूहलाई दाङ जिल्लाबाट झिकाइएको छ क्वीन्टल ‘हाइब्रिड’ बेसारको बीउ उपलब्ध गरायो।
गाउँपालिकाले बीउ उपलब्ध गराएपछि महिलाहरुले समूहकी सदस्य मिना ठकुरीको करीब १० कट्ठा जग्गामा सामूहिक खेती शुरु गरे।
जमीनमुनि बेसार हुर्कँदै गर्दा मकै बाली लिन सकिने भएकाले बेसार खेतीका लागि मिनाले समूहलाई निःशुल्क रुपमा जग्गा उपलब्ध गराएका थिए। हावापानीका दृष्टिले मकवानपुरगढी बेसार खेतीका लागि निकै उपयुक्त मानिन्छ।
बीउ पनि निःशुल्क र जग्गा पनि निःशुल्क भएपछि झनै उत्साहित भएका महिलाले बेसार खेतीका लागि जम्माजम्मी नगद रु। २०० का दरले लगानी गरे। समूहको सचिवसमेत रहेकी सरिता भन्छिन्, 'ट्याक्टर जोतेको ज्याला दिन सबैले रु दुई सयको दरले उठायौँ, प्रत्येक सदस्यले दुई बोराको दरले गोठे मल जम्मा ग¥यौँ र अरु काम सबैले मिलेर ग-यौँ।'
रोपेको एक वर्षपछि बेसारबाट नगद आम्दानी लिन पाउँदा अहिले समूहका महिला निकै दङ्ग छन्। समूहकी अध्यक्ष जानुकीमाया हमाल सामूहिकरुपमा यस वर्ष रु. ३३ हजारको बेसार बेचेको बताउँछन्।
उनीहरुले गाउँपालिकाकै वडा नम्बर ५ सिमलटारका महिलालाई सामूहिक खेतीको लागि बीउको रुपमा बेसार बेचेका हुन्। गाउँपालिकाले तोकिदिएको प्रतिकिलो रु. ५५ का दरले बेसारको बीउ विक्री गरेको हमालले बताइन्।
अर्को समूहलाई विक्री गरेर बाँकी रहेको चार क्वीन्टल यस वर्ष पनि सामूहिक रुपमा खेती गर्ने उनीहरुको तयारी छ। त्यसको लागि यस वर्ष अध्यक्ष हमालले आफ्नै जग्गा निःशुल्क रुपमा उपलब्ध गराएकी छन्।
समूहमा खेती गर्दा सामूहिक भावनाको विकास हुनुको साथै गाउँमा आपसी सद्भाव र सहकार्यको पनि विकास भएको महिलाहरु बताउँछन्।
समूहमा काम गर्दा मिलेर काम गर्ने बानीको बिकास हुने, जाँगर बढ्ने र कम लगानीबाट धेरै लाभ लिन सकिने उनीहरुको अनुभव छ। समूहकी सचिव नेगी रु. २०० नगद लगानी गरेर रु तीन हजार ३०० को दरले आम्दानी गरेको बताउँछिन्। त्यसमा उनीहरुले अर्को वर्षको लागि बीउको जोहो पनि गरेका छन्।
त्यति मात्र होइन, महिलाहरुले अघिल्लो वर्ष रापेको बेसारको बीउ (माउ) खनेर झण्डै डेढ क्वीन्टलका दरले दामासाहीमा भाग लगाएका छन्। यसरी भागमा परेको बेसार धुलो बनाएर घरमै तरकारीमा हाल्न प्रयोग गर्ने र बढी भएको विक्री गर्ने उनीहरुको योजना छ।
अहिले बजारमा बेसारको भाउ प्रतिकिलो रु। ४०० रहेको छ। बन्द डाँडा कृषक समूहमा आवद्ध महिलाले यस वर्ष सामूहिकरुमा तरकारी र फलफूलको नर्सरी पनि स्थापना गरेका छन्। रासस