म्यान्मारः सैन्य ‘कू’को विरोध गर्दा पश्चिमी शहरमा सरकारी हवाई आक्रमण

Photo : Reuters
Photo : Reuters

म्यान्मारस्थित अमेरिका र ब्रिटेन दूतावासले सरकारी सैनिक आक्रमणको विरोध गरेका छन्।

पश्चिमी छिन् राज्यको एक शहरमा जनता–लक्षित हवाई आक्रमणको अमेरिका र ब्रिटेनले चिन्तासमेत व्यक्त गरेका छन्।

छिन्-ल्याण्ड डिफेन्स फोर्सका प्रवक्ताले बताएअनुसार शनिबार सरकारी सैनिकले मिनदात शहरको पश्चिमी भागमा हवाई आक्रमण गरेको छ। सरकारी आक्रमणबाट कयौं घर नष्ट भएका छन्। स्थानीयको मृत्यु र घाइतेको विवरण आएको छैन।

छिन्-ल्याण्ड डिफेन्स फोर्स प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको निर्वाचित सरकार अपदस्थ गरी सत्ता हातमा लिएको सैनिकविरूद्ध स्थानीयहरूले गठन गरेको लडाकू समूह हो। 

सैन्य जुन्ता सरकारविरूद्ध जनप्रदर्शन तीब्र भएपछि देशका विभिन्न राज्यमा ‘मार्शल ल’ लागू गरिएको छ। पटक-पटकको हवाई गस्तीले मिनदात क्षेत्रका जनतामा सैन्य आतंकले आजित बनाएको फोर्सका प्रवक्ताले बताएका छन्। उनले स्थानीय सञ्चारमाध्यमा भनेका छन्, ‘आक्रमणमा हेलिकोप्टर प्रयोग गरिएको छ। बस्ती–बस्ती गोलाबारी गरिरहेको छ। स्थानीयहरू हमलाबाट मारिएका छन्। तर, कति भन्ने थाहा छैन।’

मिनदान शहरमा जुन्ता सरकारले नागरिक बस्तीमा आक्रमण गरेकोप्रति छिन् मानवअधिकार संगठनले चिन्ता व्यक्त गरेको छ। यो क्षेत्र पछिल्लो समय सरकारी आक्रमणको चपेटामा परेको हाे।

जनताद्वारा निर्वाचित सांसदहरूको राष्ट्रिय एकता सरकारले सरकारी सैन्य सत्तालाई जनतालाई दुःख नदिन आग्रह गरेको छ। सैनिकको ज्यादति जनतामाझ यसैगरी बढे मिनदात शहर युद्धभूमिमा परिणत हुने चेतावनी समेत दिएको छ।

गतसाता यस क्षेत्रमा सरकारी सैनिक र नागरिक समूहबीच भएको मुठभेडमा दर्जन बढी सैनिकले ज्यान गुमाएका थिए। त्यसयता मिनदातमा सैन्य सक्रियता बढिरहेको छ।

प्रकाशित मिति: : 2021-05-17 07:47:00

प्रतिकृया दिनुहोस्